News Category 2072/01/30

भूकम्पबाट ५० भन्दा बढीको मृत्यु एक हजार बढी घाइते सप्तरीमा एक महिला प्रहरीसहित सात घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ बैशाख । 
महाप्रलयकारी भूकम्प आएको १७ दिनपछि पुनः १८ औं मंगलबार १२ बजेर ५० मिनेटमा ६.८ रेक्टरको भूकम्प दोलखा र सिन्धुपालचोकलाई केन्द्र बिन्दु भएर गएको छ । 
सो भूकम्पका गएको १७ दिन बितिसक्दा मानिसहरुमा भूकम्पको त्रास कम हुँदै जाँदा मंगलबार गएको भूकम्पका कारण मानिसहरु पुनः त्रासित भएका छन् । 
मंगलबार गएको भूकम्पमा परि ५० जना बढीको मृत्यु भएको छ भने एक हजार भन्दा बढी घाइते भएका छन् ।
यता मंगलबार गएको भूकम्पबाट सप्तरीमा एक महिला प्रहरीसहित सात जना घाइते भएको सप्तरीका प्रमुुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।  
घाइते मध्ये सप्तरीको रायपुर गाविस ८ स्थित एक घरको छतबाट हामफलेर तीन जनाको हात, खुट्टा भाँचेको छ । उनीहरुको हाल धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 
यस्तै सितापुर ८ का सबिता खंगको घरको पर्खाल खसेर हात भाचेको छ भने सिम्रहा सिगियौन गाविस निवासी ३० वर्षिय रामपृत यादवको पनि पर्खाल खसेर दाहिने खुट्टा भाचेको प्रजिअ यादवले जानकारी दिनुभयो ।
यसैगरि कंचनरुप नगरपालिका ८ निवासी ४३ वर्षिया रामकुमारी पुलामी उम्लेको पानी जिउमा खस्दा गम्भिर घाइते भएकी छिन् । यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत एक जना महिला प्रहरी भुकम्प गएको बेला भागदौडमा परि बेहोस भएकी छिन् । उनको हालसम्म पनि होस खुलेको छैन् । दुबै महिलाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । 
यस्तै जिल्लाका विभिन्न घरहरुमा व्यापक क्षति भएको छ । यता राजविराज नगरपालिका वडा नं. ५ रुपनी रोडस्थित गंगराम यादवको घरको पर्खाल भूकम्पबाट चर्केको छ भने सोही वडाका अधिवक्ता रामअशिष प्रसाद सिंहको घरको पर्खाल समेत चर्केको छ । यस्तै सोही वडा विशेश्वर प्रसाद चौधरी, पूर्व जिशिअ बिजयकुमार गुप्ता र पत्रकार अनिलकुमार अनलको घर समेत भूकम्पबाट घरको पर्खाल चर्केको छ । 
यता भूकम्पबाट भएको भौतिक क्षतिको अन्य विवरण आउने क्रम जारि रहेको प्रजिअ यादवले जानकारी दिनुभयो । 
यसअघि बैशाख १२ गते गएको भूकम्पमा सप्तरीमा १२ जना घाइते भएका थिए भने कुनै पनि मानविय क्षति भएको थिएन् । 
गत बैशाख १२ गते शनिबारका दिन ११ बजेर ५६ मिनेट जाँदा ७.८ रेक्टरको नेपालमा गएको महाभूकम्पका कारण ८ हजार भन्दा बढीको मृत्यु भइसेकेकोे छ भने १५ हजार भन्दा बढी घाइते भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट