झुठा विवरण पेश गरी नेपाली नागरिकता लिने भारतिय नागरिकहरुलाई कैदको सजाय

Tuesday, May 19, 2015
दैनिक संवाददाता
राजविराज, ४ जेठ । 
जिल्ला अदालत राजविराजले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिने भारतिय नागरिकहरुलाई कैद सजायको फैसला सुनाएको छ ।
भारत विहारको सिंहेश्वर जिल्ला मधेपुरा कटोरी गाउँ ६२ घर भएका ३९ वर्षीय जयविरप्रसाद सिंह भनिने जीवनकुमार सिंहलाई जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको इजलाशले शुक्रबार डेढ वर्ष कैद सजायका साथै रु. ५० हजार जरिवानाको फैसला गरेको हो ।
यस्तै सिंहकी पत्नी ३८ वर्षीया सवितादेवी सिंहलाई एक वर्ष कैद, सकरपुरा २ का ६५ वर्षीय चन्द्रदेवप्रसाद सिंहलाई रु. २५ हजार जरिवाना गर्ने सजायको फैसला भएको अधिवक्ता समिम अख्तरले जानकारी दिनुभयो । 
चन्द्रदेवले भारतिय नागरिक रामानन्द सिंहका छोरा जयविरलाई आफ्नो छोरा जीवन बनाई नागरिकतामा सनाखत बसी नागरिकता प्रमाण पत्र लिन लगाएका थिए ।
सबिताका नन्द विभा सिंहले २०६३ सालको गाउँमा खटिएको नागरिकता टोलीमा जयविरले झुठा विवरण देखाई चन्द्रदेवलाई बुवा लेखाई आफ्नो नाम जीवन लेखाई १६३०४१÷२४५ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्दै कारवाहीका लागि ०७१ असार ८ गते उजुरी दिएकी थिइनु् । 
नक्कली नागरिकता लिन सफल भएका जयविरले सोही आधारमा श्रीमति सविताको ०६८ सालमा १०४१÷३६६ नम्बरको नागरिकता लिएका थिए । सकरपुरा २ राजपुत टोलमा ०६२ पुसदेखि डेरा लिई बस्दै आएका जयविरले २०६३ मा नै नक्कली नागरिकता प्राप्त गरेका थिए । नागरिकता टोलीमा तत्कालिन सकरपुरा गाविसका सचिव राजुकुमार झाले सिफारिश गरेका थिए । गाविस सचिव झालाई भने अदालतले जानीजानी झुठा सिफारिश नगरेको भन्दै सफाई दिने फैसला गरेको छ ।
विभा सिंहको उजुरीको आधारमा प्रहरीले जयविरलाई ०७१ भदौ २७ गते पक्राउ गरेको थियो । उनलाई अदालतले गत असोज ८ गते प्ुर्पक्षका लागि रु. १० हजार धरौटीमा रिहा गरेकोमा पुनरावेदन अदालतले समेत जिल्ला अदालतको थुनछेक आदेशलाई नै सदर गरेको थियो । धरौटीमा रिहा भएका जयविर, उनकी श्रीमति सविता र चन्द्रदेव हाल फरार रहेका छन् ।