एक सय एक इनार भएको इनर्वा गाउँको अस्तित्व डुब्दै

Saturday, May 23, 2015
शुभ नारायण यादव
राजविराज, ८ जेठ । 
बढ्दो आधुनिकतासंगै सप्तरीको इनर्वा गाविसमा रहेका ऐतिहासिक ईनारहरु अहिले आप्mनो प्राचिन संस्कृति र पहिचान गुमाउँन थालेको छ । 
सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर भन्दा २ किलोमिटर पश्चिम र हालको सदरमुकाम राजविराज भन्दा १० किलोमिटर पूर्व हुलाकी राजमार्गमा पर्ने इनर्वा गाविसमा जहाँ एक समय यस्तो थियो की टाढा टाढाबाट आउने गरेका बटुवाहरु इनर्वाको इनारको पानि खाएर एकछिन थकाइ मारेर मात्रै जाने गर्थे । 
यस गाविसको प्रत्येक वडामा दर्जर्नौ गरि १ सय १ इनार रहेको थियो । मान्छेहरु दैनिक पानिको काम इनारबाटै चलाउथे । चाहे त्यो नुहाउने होस अथवा पिउने, अथवा लुगाधुने । इनारको पानि खाएपछि शरीर हस्टपुस्ट र निरोगी हुने कुरा पनि बुढापाखाहरुको भनाई एकदमै प्रचलित थियो । 
समय क्रमसंगै ट्यूवेलको बानि लागेपछि मान्छेहरु आधुनिकतासंगै आप्mनो प्राचिन संस्कृति र पहिचान पनि बिर्सिदै गएको देखिन्छ । आप्mनो गाउँको पहिचान नै संकटमा परेको छ । 
गाउँमा भएको इनारको संरक्षण र ममर्त गर्न नसकेर विस्तारै विस्तारै यस गाविसमा इनार पुरीदै गएको छ । पूर्व गाविसका अध्यक्ष अवध मण्डलको भनाइ अनुसार इनारको मर्मत र संरक्षणका लागी कहिकतैबाट सहयोग नपाएर नै यस्तो अवस्था भएको हो । 
गाविसमा बजेट आउछ तर, विभिन्न उपभोक्ता समिति बनाएर सचिवले कमिसन खान मिल्ने किसिमको कार्यक्रमहरु बनाउछन उहाँको आरोप छ । यस्तो एतिहासिक इनारको संरक्षण बारे खासै कसैले चासो नदेखाएको कुरा स्थानिय नेता रामसेबक खँग बताउँछन ।
कुल ८५३ घरधुरी संख्या रहेको यस इनर्वा गाविस.मा ६५०० जनसंख्या रहेको छ । गाविसको कुल क्षेत्रफल २८ वर्ग कि.मि. रहेको छ । ९ वटा वडा भएको यस गाविसमा मण्डल (मघैया धानुक), यादव, कुम्हार पंडित, खत्वे (खँग), सोनार, मुसलमान, मुसहर, बातर (सरदार), चमार, डोम, लोहार, हलुवाई र पहाडि समुदायका मल्ल ठकुरी, शाहलगायतका जातजातिका मान्छेहरुको बसोवास छन ।