News Category 2072/02/25

बढ्दो गर्मीले दिनचर्या कष्टकर बन्दै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ जेठ ।
विगत एक सातादेखि दिन प्रतिदिन बढ्दै गएको गर्मीले सप्तरीका बासिन्दाहरुको दिनचर्या अत्यन्त कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीले दिउँसो बजारमा मानिसहरुको चहलपहलमा निकै कमी देखिएको छ । 
गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ । बिहान ७ बजेदेखी नै चर्को घाम लागेपछि सामान किनमेल गर्ने आउने जसोतसो सामान खरीद गर्ने गरेका छन् । 
बिहानैदेखी तापक्रम बढ्दै जाँदा मानिसहरु चिसो पदार्थ सेवन गरिरहेका छन् भने आइसक्रिम, बरफ, चिसो मिनरल वाटरको बिक्रि समेत बढेको छ । गाउँघरमा शरीरलाई चिसो पार्न स्थानीय पोखरी, नहर, नदीमा नुहाउने गर्छन् । 
यस्तै गर्मीकै कारण जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्तिथि समेत न्यून छ । सप्तरीमा सबै भन्दा बढी अड्डा अदालतको काम हुने जिल्ला भएपनि अहिले अदालतमा मुद्दा गर्नेहरुको उपस्थितिमा कमी आएको हो । 
सदरमुकाम राजविराजमा अवस्थित सगरमाथा अञ्चलका कूल ६ वटै जिल्लालाई हेर्ने पुनरावेदन अदालत र सप्तरी जिल्ला अदालतमा यसअघि दिनहुँ सयौंको संख्यामा झगडीयाहरु आउने गर्थे । तर, अहिले बढेको गर्मी सह्न नसकेर अतिआवश्यक काम बाहेकको अवस्थामा सेवाग्राहीहरुको आउने क्रममा कमि आएको जिल्ला बार एशोसिएशनका पूर्व अध्यक्ष दुर्गानन्द चौधरीको अनुभव छ ।
गर्मीका कारण जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयहरुले समय अगावै दिउँसोको सेसनलाई बिहानमा परिणत गरेको छ । अहिले सप्तरीका विद्यालयहरुमा बिहान ६ देखी १२ बजेसम्म हुने गरेको छ । 
सप्तरीमा अहिले दैनिक तापक्रम ३८ देखी ४० डिग्री सेल्सियस रहेको छ । गतवर्षहरु भन्दा यसवर्ष गर्मी बढ्न थालेपछि किसानहरु समेत चिन्तित भएका छन् । गहुँ खेती सकिएर धानको बेर्ना लगाउन खेत तयार गर्ने बखत बढेको गर्मीले खेतमा कामकाज गर्न समस्या भइरहेको सप्तरी भारदहका अगुवा किसान बच्चालाल मण्डलले गुनासो गर्नुभयो । 
यसैगरी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, डाइरियाका बिरामीहरु भर्ना रहेको छ । भर्ना भएका बिरामीहरुमध्ये खासगरी बालबालिका बढी प्रभावित भएको अस्पताल आकास्मिक कक्षका इन्चार्ज लालकिशोर सिंहले बताउनुभयो ।  
उहाँले भन्नुभयो, “गर्मी बढेकोले अहिले अस्पतालमा दैनिकी १५ देखी २० वटा बालबालिकाहरु बिरामी भएर आउने गरेका छन्, यसअघी ७ देखी १० जना बालबालिकाहरु मात्र बिरामी भएर आउने गर्थे ।” 

प्रतिकृया दिनुहोस

ताजा अपडेट