News Category 2072/03/05

महासंघले हल उपलब्ध नगराउँदा खुल्ला ठाउँमा युनियनको पत्रकार सम्मेलन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ असार । 
नेपाल प्रेस युनियन शाखा सप्तरीले शुक्रवार बिहान राजविराजस्थित नेपाल पत्रकार महासंघको शाखा कार्यालय नखोलिएकोले पत्रकार सम्मेलन खुल्ला ठाउँमा गरेको छ । 
महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले युनियन सप्तरीका कार्यबाहक अध्यक्ष रामनारायण विश्वास र केन्द्रिय सदस्य अवधेशकुमार झालाई शुक्रवार बिहान साढे ८ बजेकालागि हल उपलब्ध गराउने जानकारी टेलिफोनमा दिनुभएको केन्द्रिय सदस्य झाले बताउनुभयो ।
तर, सधैं बिहानै खुल्ने महासंघको कार्यालय शुक्रवार अबेर साढे ९ बजेसम्म बन्द राखेकै कारण युनियनले महासंघ छेउकै सडकमा पत्रकार सम्मेलन सम्पन्न गरेको हो ।
यूनियन सप्तरीका कार्यबाहक अध्यक्ष रामनारायण विश्वासको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अवधेशकुमार झाले महासंघका अध्यक्षले पत्रकार सम्मेलनकालागि हल उपलब्ध गराउने मौखिक जानकारी दिएपनि उपलब्ध नगराउनु नेतृत्वले एकलौटी देखाउन खोजेको आरोप लगाउनुभयो ।
महासंघ सप्तरीका नेतृत्वहरुको वर्तमान भूमिकाप्रति विवादस्पद बन्दै गएको बताउँदै केन्द्रिय सदस्य झाले महासंघ एनिजिओकरणतर्फ उन्मुख हुदै गएको आरोप समेत लगाउनुभयो । 
उहाँले विभिन्न समयमा पत्रकाहरुमाथि आएको धम्की जस्ता घटनामा दोषीलाई कारबाही र पीडितलाई न्याय उपलब्ध गराउन नसक्नु, कम्प्यूटरसहितका सामग्री खरीद गर्दा कार्यसमितिको बैठकले पास नगर्नु, कुन प्रयोजनले आएको रकम अर्के प्रयोजनमा खर्चिनु जस्ता गतिविधिहरु भईरहेको आंशका व्यक्त गर्नुभयो ।
महासंघले आयोजना गर्ने पत्रकार सम्मेलनहरुमा सबै पत्रकारलाई खबर नहुनु, वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराई र पत्रकार बीरेन्द्र साहलाई स्वास्थ्य उपचार खर्च उपलब्ध नगराउनु, महासंघमा जडान भएको वाईफाई (ईन्टरनेट) सदस्यहरुकै प्रयोगकालागि भएकाले दिनहुँ त्यसको पासवर्ड चेन्ज गरिदिने जस्ता काम महासंघको कार्यालयमा भईरहेकोले युनिनयले तत्काल सचेत गराउँदै आगामी दिनमा यस्ता क्रियाकलापहरुमा नसच्याईए युनियन बाध्य भई पत्रकार सम्बद्ध विभिन्न संघ संस्थाहरुसितको समन्वयमा आन्दोलनको विभिन्न कार्यक्रमसहित अविश्वासको प्रस्तावसमेत दर्ता गराउन पछि नपर्ने युनियनका केन्द्रिय सदस्य एवं महासंघका सदस्य झाको भनाई थियो ।
यता पत्रकार महासंघको शाखा कार्यालय सबै पत्रकारहरुको साझा सम्पती भएपनि महासंघका नेतृत्वले एकलौटी गर्न खोजेको पछिल्लो घटनाले प्रष्टिएको पत्रकार सम्मेलनमा सहभागी भएका महासंघका सदस्यहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट