News Category 2072/04/11

सप्तरीबाट १ हजार ५ सय ९२ लिखित सुझावहरु बुझाइयो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० साउन । 
संविधान २०७२ का लागि प्रस्तावित मस्यौदामा साउन ४ र ५ गते सप्तरी जिल्लाबाट संकलन गरिएका राय सुझावहरु जिल्लाका सभासद्हरुले शनिबार नागरिक सम्वद्र्धन तथा संविधान सुझाव समितिमा बुझाएका छन् । 
सप्तरीबाट ३ हजार ९ सय ६७ पुरुष र ७ सय महिला गरि जम्मा १ हजार ५ सय ९२ लिखित सुझावहरु संकलन गरि सो समितिमा बुझाएको सभासद् अशोक मण्डलले जानकारी दिनुभएको छ । बाँकी रहेका सुझावहरु मौखिक र अडियो भिडियो रहेको उहाँले बताउनुभयो ।   
सुझावहरु बुझाएर सदरमुकाम फर्कनु भएका सभासद् मण्डलले दैनिकसँग कुराकानी गर्दै भन्नुभयो, “सप्तरी जिल्लाबाट सबैभन्दा बढी नामाकंन र सिमाकंनसहित संघीय संविधान जारि गर्न सुझाव आएको छ ।”
सोही क्रममा उहाँले नागरिकताको सवालमा आमा वा बुवाको नामबाट बंशज नागरिकता दिनुपर्ने, धर्म निरपेक्ष र धर्म स्वतन्त्रता हुनुपर्ने, जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलन प्रस्तावनामा उल्लेख हुनुपर्ने तथा कार्यकारी राष्ट्रपति निर्वाचित वा प्रधानमन्त्रि प्रत्यक्ष निर्वाचित कार्यकारिणी व्यवस्था हुनुपर्ने सुझावहरु आएको उहाँले जानकारी दिनुभयो । 
यस्तै प्रदेश सम्बन्धमा सप्तरीका जनताले ८ प्रदेश हुनुपर्ने सुझाव दिएको तर मधेश कति प्रदेश भन्ने कुरा गौण रहेको उहाँको कथन छ । सोही प्रसङ्गमा सभासद् मण्डलले भन्नुभयो, “मेरो व्यक्ति विचारमा मधेश दुई प्रदेश हुनुपर्छ ।”
सो सुझावहरु सहित सप्तरीका सभासद्हरु मण्डलसहित मानपुर चौधरी, जितेन्द्र नारायण देव, उमेश यादव, रन्जु ठाकुर, सकलदेव सुतिहार, रमणी देवी राम र तेजुलाल चौधरीले सामूहिक रुपमा नागरिक सम्वद्र्धन तथा संविधान सुझाव समितिका सभापति प्रमिला रानामगरलाई बुझाउनु भएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट