News Category 2070/02/24

छुट्टाछुट्टै दुर्घटनामा आधा दर्जन घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ जेठ ।
सप्तरी जिल्लामा बिगत एक महिना यता दैनिक दुर्घटना भइरहेको छ । बिहीबार भएको तीन छुट्टाछुट्टै दुर्घटनामा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।
जनकपुरबाट राजविराजतर्फ आँउदै गरेको यात्रु बसले दिएको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत पदमा कार्यरत बालाकृष्ण ढुङ्गाना घाइते भएका छन् ।
नागरिकता बितरण टोली कठौनाको प्रमुख समेत रहेका ढुङ्गाना बिहीबार त्यसतर्फ बिहान ९ बजे जाँदै गर्दा रुपनी राजविराज सडक खण्डस्थित रायपुर १ मा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जनकपुरबाट राजविराज तर्फ आउँदै गरेको ज१ख ६५६ नम्बरको बसले ठक्कर दिँदा स२प २४०६ नम्बरको मोटरसाइकलमा सवार ढुङ्गाना दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् घाइते भएका ढुङ्गानाको दाहिने हात भाँच्चिएको छ । उनलाई प्रारम्भिक उपचार पश्चात् बिराटनगर पठाइएको छ ।
राजविराज–भारदह सड्क खण्ड अन्तर्गत बभनगामाकट्टी ३ मा एक मोटरसाइकल माइक्रोसँग ठोक्किंदा दुई जना घाइते भएका छन् ।,
राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको को.१ च २५५३ नम्बरको माइक्रो बस र विपरित दिशावाट आउँदै गरेको स.३ प ८३९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक बभनगामाकट्टी ३ निवासी वर्ष २१ का धिरेन्द« यादव र पछाडि सबार सोही ठाउँका बर्ष १६ का सन्तोष यादव घाइते भएका छन् ।
दाहिने खुट्टा र दाहिने हातमा चोट लागेका धिरेन्द्रको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि धरान पठाइएको छ भने सन्तोषको राजविराजस्थित सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै पन्सेरा ७ स्थित पूर्व–राजमार्गमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किंदा तीन जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३० प १३३३ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ आउँदै गरेको बा. २२ प. ६७१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
उक्त दुर्घटनामा परी बा. २२ प ६७१७ नम्बरको मोटरसाइकल चालक सप्तरीको पन्सेरा ६ निवासी विजय चौधरी र पछाडि सवार सोही ठाउँका मिठु चौधरी तथा बा. ३० प १३३३ नम्बरको मोटरसाइकलमा पछाडि सवार झापाको धरमपुर ८ बस्ने वर्ष ३० को भुवन राई घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि सिरहाको लहान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट