News Category 2072/04/28

थारुवानद्वारा तराईमा तीन प्रदेशको माग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ साउन । 
तराईमा पहिचानसहितको तीन प्रदेशलगायत पाँच सुत्रिय माग राख्दै पूर्वी थारुवान कोचिला राज्य संयुक्त संघर्ष समितिले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री र संविधानसभा सभाध्यक्षलाई ज्ञापन पठाएको छ । 
बुझाइएको ज्ञापनमा झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, उदयपुरलाई १ नं प्रदेश, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सालाई २ नं. प्रदेश र चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरलाई ३ नं. प्रदेशमा राखिनुपर्ने माग गरिएको छ । 
बुझाइएको ज्ञापनमा पूर्वमा तराईका ६ जिल्लालाई मिलाएर एउटा प्रदेश निर्माण गर्नुपर्नेमा सभासद्हरुमा तेजुलाल चौधरी, मानपुर चौधरी, डा. सुवोधकुमार पोखरेल, रन्जु ठाकुर, ताराकान्त चौधरी, मिथिला चौधरी, रंजित कर्ण, मोक्तार अहमद, अशोक कुमार मण्डलले हस्ताक्षर गरि संविधानसभामा बुझाउँदा समेत सोको वेवास्ता गरिएको उल्लेख छ । 
त्यस्तै समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको सम्पूर्ण अंगमा तराईका आदिवासी, जनजातीहरुलाई जातिय जनसंख्याको आधारमा छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने, थारु बाहुल्य क्षेत्रमा निर्मित उद्योग, कलकारखानाहरुमा पहिलो प्राथमिकता तराईका आदिवासीहरुलाई दिनु पर्ने माग गरिएको छ । 
थारुहरुको ऐतिहासिक ग्राम थान, बढगरहरुलाई संरक्षण, सम्वर्धन र विकास गर्नको निम्ति बृहत्तर ग्रामथान बढगर विकास बोड गठन गर्नुपर्ने तथा संयुक्त थारु संघर्ष समितिसँग पटक पटक गरेको सहमति सम्झौता तुरुन्त कार्यान्वयन गर्नु पर्ने माग गरिएको छ । 
पूर्वी थारुवान कोचिला राज्य संयुक्त संघर्ष समितिका सप्तरी संयोजक बौली चौधरीको नेतृत्वमा आएको टोलीमा सप्तरी क्षेत्र नं. १ का एमाओवादी सभासद् मानपुर चौधरी, क्षेत्र नं. २ का सभासद् अशोक मण्डलसमेतको सहभागिता रहेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट