News Category 2072/05/09

मधेश आन्दोलन ३ का क्रममा तीनको मृत्यु आन्दोलनका क्रममा गौर र रुपन्देहीमा थप दुईको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ भदौं । 
मधेशी मोर्चाको आह्वानमा विगत ११ दिनदेखी थालिएको मधेश आन्दोलन ३ मा मंगलबार सम्ममा तीन जनाको मृत्यु भएको छ । 
पछिल्लो पटक मधेशी मोर्चाको आन्दोलनका क्रममा मंगलबार रौतहटको गौरमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।
निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले मंगलबार दिउँसो गोली चलाएको थियो । गोली लागि मठिया गाविसका १८ वर्षीय राजकिशोर ठाकुर गम्भीर घाइते भएका थिए ।
उनको पेटमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । उपचारका लागि वीरगञ्ज लैजाँदै गरेका उनको बाटैमा मृत्यु भएको रौतहट जिल्ला अस्पतालका डा. कृष्ण साहले जानकारी दिनुभयो ।
१८ वर्षीय राजकिशोर ठाकुरलाई पिठ्युँमा गोली लागेको र उनको मृगौला छेड्दै पेटबाट निस्केको जिल्ला अस्पताल गौरका चिकित्सकहरुले बताएका छन् ।
गौरस्थित गुप्ता पेट्रोल पम्प अगाडि मंगलबार दिउँसो प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भइरहँदा प्रहरीले एक्कासी गोली चलाएको थियो । बाटोको छेउबाट हिँड्दै गरेका ठाकुर गोली चलेपछि भाग्न खोज्दा पछाडिबाट पिठ्युँमा गोली लागेको हो ।
स्थानीय पत्रकार प्रविण तिवडेवालका अनुसार गोली लागि लडेका युवक ठाकुरलाई प्रहरीले अस्पताल पुर्याउनु साटो घेरेर पिटेका थिए । करिब २० जनाको संख्यामा रहेका प्रहरीले गोली लागेर भुईँमा लडेका उनलाई बुटै बुटले हिर्काएका थिए ।
स्थानीय सञ्चारकर्मीहरुसम्म यो कुरा पुगेपछि उनीहरुले रेडक्रसलाई खबर गरेका थिए । त्यसपछि रेडक्रसको टोलीले युवकको उद्धार गरी जिल्ला अस्पताल गौर ल्याएको थियो ।
यसैबीच बिहिवार रुपन्देहीको बेलहियामा भएको झडपमा घाइते भएका एक आन्दोलनकारीको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको बन्दका क्रममा आन्दोलनकारी भैरहवा भन्सार कार्यालयमा ताला लगाउने भन्दै बेलहिया पुगेपछि प्रहरी, बन्दको प्रतिकार समूह र आन्दोलनकारीबिच झड्प भएको थियो ।
झडपका क्रममा रुपन्देही कम्हरीया निहिवाका २० वर्षीय दुर्गेश यादव गम्भीर घाइते भएका थिए । उनलाई तत्काल काठमाडौं शिक्षण अस्पताल लगिएको थियो ।
त्यहाँबाट नेपाल मेडिकल कलेज शिक्षण अस्पताल रिफर भएका उनको उपचारका क्रममा मंगलबार मध्यान १२ बजेतिर निधन भएको हो । 
यसअघि भदौं १ गते शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागि सप्तरीको भारदहमा राजिव भनिने राजेन्द्र राउतको मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट