News Category 2072/05/15

माइक्रोमा तोडफोड तथा आगजनीको प्रयास १ नं. नापी शाखाको साइनबोर्ड जलाए

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
विगत १७ दिनदेखी जारि मधेश बन्दका क्रममा सोमबार बिहान सप्तरीको रुपनीमा एक माइक्रो बसमा आन्दोलनकारीहरुले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका छन् । 
आइतबारराति करिब १२ बजे काठमाडौंबाट राजविराजतर्फ आउँदै गरेको बा २ ख ६२३९ माइक्रो बसलाई आन्दोलनकारीहरुले राजविराज रुपनी सडकखण्डमा रोकेर तोडफोड गरेका थिए । तोडफोड पश्चात् सो माइक्रोलाई प्रहरीले नियन्त्रणमा लिई रुपनी चौकमा राखेको थियो । सोही क्रममा सोमबार बिहान राति तोडफोड गरिएको माइक्रोलाई आन्दोलनकारीहरुले आगजनी गर्न थालेपछि प्रहरीले त्यसलाई तुरन्त निभाएको थियो । 
यता राती स्कर्टिङ गरि सवारीसाधनहरु लैजान खोज्दा आन्दोलनकारीहरुले दुई दर्जन सवारीसाधनहरुमा ढुङ्गामुढा समेत गरेका छन् । सो ढुङ्गामुढाबाट अधिकांश बस तथा ट्रकको झ्यालका सिसाहरु फुटेका छन् । 
यता सोमबार राजविराजस्थित कुनौली रोडमा रहेको १ नं. नापी शाखा कार्यालयको साइनबोर्ड तथा दुई वटा कुर्सी बाहिर निकालेर आन्दोलनकारीहरुले जलाएका छन् ।  
यस्तै मधेशी मोर्चा सप्तरीको आह्वानमा गरिएको आमहड्तालको सोमबार १७ दिन पुगेको छ । सो क्रममा सप्तरीको जनजीवन अत्यन्त प्रभावित बनेको छ । उद्योग, कलकारखाना, शैक्षिक संस्था, वित्तिय संस्था, पसल लगायत बन्द नै रहेको छ भने यातायाताका सवारीसाधनहरु चल्न सकेका छैनन् । 
दुई साता भन्दा बढी दिनदेखी बन्द रहेकाले यहाँ दैनिक उपभोग्य समाग्रिहरुको अभाव सृजना भएको छ । यातायात नचल्दा सरकारी तथा निजि कार्यालयहरुमा सेवाग्राहीहरु आउन नसक्दा कामकाज पूर्ण रुपले ठप्प भएको छ भने अदालतमा समेत बन्दको असर परेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट