News Category 2072/05/16

बिरगन्ज र कलैयामा गरि पाँच आन्दोलनकारीको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ भदौ । 
बिरगन्ज र कलैयामा गरि मंगलबार प्रहरीको गोली लागि पाँच आन्दोलनकारीको मृत्यु भएको छ । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको वीरगञ्ज बन्दमा हिंसात्मक झडप हुँदा चार जनाको मृत्यु भएको छ । 
प्रहरीले बिरगन्जको श्रीपुरमा चलाएको गोली लागेर पर्सा मनरियाका धर्मराज सिंहको मृत्यु भएको छ । नगवा प्रहरी चौकी नजिक भएको झडपमा दिनानाथ साह, सोहन साह कलवार र भोला साह कानुको मृत्यु भएको छ । उनीहरुलाई प्रहरीले चलाएको गोली लागेको थियो ।
सोमबारबाटै तनावग्रस्त रहेको बिरगन्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू मंगलबार तोड्दै प्रदर्शनमा उत्रिएका बन्दकर्ताले श्रीपुर र नगवा प्रहरी चौकीमा आक्रमण गरेपछि सुरक्षाकर्मीर्ले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।
झडपमा घाइते भएका प्रज्वल तिवारी र अमेरीलाल पाल गम्भीर घाइते भएका छन् । उनीहरु दुबैलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
यसअघि सोमबार पनि वीरगञ्जमा प्रहरीको गोली लागेर दिलिप सिंह चौरसियाको मृत्यु भएको थियो ।
यता बाराको कलैयास्थित भरत चोकमा मंगलबार प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परी  कलैया नगरपालिका–१० रङ्गपुरका २२ वर्षीय हिफाजत मियाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 
यसअघि शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागि सप्तरीको भारदह १ का राजेन्द्र राउत, रौतहट मठिया गाविसका १८ वर्षीय राजकिशोर ठाकुर, रुपन्देही कम्हरीया निहिवाका २० वर्षीय दुर्गेश यादव, लुम्बिनीका सुनिल यादवको मृत्यु भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट