News Category 2072/05/18

वार्ताको माध्यमबाट समस्याको समाधान गर्न एमाले सप्तरीको आग्रह

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ भदौ । 
नेकपा एमाले जिल्ला कार्य समिति सप्तरीले आन्दोलनरत विभिन्न पक्षसँग यथाशीघ्र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न राज्य र आन्दोलनरत पक्षलाई अनुरोध गरेको छ ।
जिल्ला कमिटिको भदौ १४–१५ गते बसेको १४ औं पूर्ण वैठक पश्चात् बिहिबार नेकपा एमालेका जिल्ला सचिव शम्भु यादवद्वारा जारी विज्ञप्तीमा यस्तो अनुरोध गरिएको हो ।
हस्ताक्षरित विज्ञप्तीमा यस्तो आन्दोलनको बेलामा संयम अपनाउन र असन्तुष्ट पक्षसँग वार्ता र विमर्श गर्ने वातावरण सृजना गर्न सबै पक्षसँग विशेष गरी सरकार र जिम्मेवार दलहरुसँग आग्रह गर्दै आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न आ–आफ्नो समस्या र मागसँगै समाधान र निकाससहित वार्ताबाट राजनीतिक समाधान निकाल्न समेत अनुरोध गरिएको छ ।
मुलुकको विभिन्न स्थानमा भइरहेको घटनालाई तोडमरोड वा बढाईचढाईं गर्ने, साम्प्रदायिक रंग दिएर सामाजिक सद्भाव विथोल्न खोज्नेसँग सतर्क रहन जनसमुदायलाई आग्रह गर्दै आपसी सामञ्जस्यता विगार्ने र उत्तेजना फैल्याउने सामाग्री प्रकाशन र प्रशारण तथा अभिव्यक्ति तुरुन्त बन्द गर्न बरु राजनीतिक निदानका लागि वार्तामा आउन र वार्ताबाटै समाधान निकाल्ने हौसला दिने खालको रचनात्मक भूमिका निर्वाह गर्न सम्पुर्ण जनसमुदायमा विज्ञप्ती मार्फत अनुरोध गरिएको छ । 
यता मधेशमा बन्द निरन्तर लम्बिँदै जाँदा विद्यालय पढ्ने बालबालिका, यातायात, मजदुर, उद्योग, व्यवसाय, कलकारखाना लगायत आम जनजीवन अत्यन्त प्रभावित बनेकोले जनताको मर्काप्रति संवेदनशील भई शान्तिपूर्ण राजनीतिक सम्वाद तथा सहमतिबाट समस्याको निकास निकाल्न समेत अनुरोध गरिएको विज्ञप्तीमा उल्लेख गरीएको छ । 
आन्दोलनका क्रममा आन्दोलनकारी, सुरक्षाकर्मी र डेढ वर्षीय बालकको समेत मृत्यु भएको तथ्यलाई ध्यानमा राख्दै दशकौं लामो संघर्ष, ०६२÷०६३ को जनआन्दोलन र मधेस आन्दोलनको परिणामस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी मुलुकलाई राजनीतिक स्थायित्व, दिगो शान्ति एवं आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने संघारमा आइपुगेको जनाउँदै यस्तो बेलामा सबै नेपाली जनताको माग समेटिएको संविधान छिटो जारी होस् भन्ने हामि सबैको चाहना रहेको बैठकको ठहर रहेको छ । 
यस्तै विज्ञप्तिमा सोही अपेक्षाअनुरुप सुदुरपश्चिम, थरुहट, तराई मधेसमा क्रमशः आन्दोलन चर्किदै जाँदा सुर्खेत, सप्तरी, कैलाली, रुपन्देही, बारा, पर्सा, रौतहटमा दुखदायी घटना भई अबोध बालक, प्रहरी र नेपाली जनताले ज्यान गुमाउनु परेको जनाउँदै मृतकहरुप्रति सम्मान र परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
साथै सो बैठकले संविधान निर्माणका क्रममा, सिमाङ्कन र नामाङ्कनको सवालमा मधेसी, मुस्लिम, हिन्दु, महिला, दलित, आदिवासी, जनजाति, लिम्वुवान, मगरात, अवध, कोचिला र सीमान्तकृत अल्पसङ्ख्यक समुदायलगायतको फरक–फरक माग र चाहना रहेको जनाउँदै ती सबैका मागहरु मध्ये कतिपय एउटै प्रकृतिका र कतिपय एक आपसमा बाँझिने खालका रहेकाले पुरा हुन नसक्ने मागको यथोचित युक्तिसंगत तर्कले र पुरा हुन सक्ने मागलाई तत्काल सम्बोधन गर्ने राजनीति सुझबुझ देखाउन नसकिए मुलुक अग्रगतीतर्फ जान सक्दैन भन्ने पार्टीको बैठकले निर्णय गरेको जनाएको छ ।
सो वैठकले पुष्पलाल मध्यपहाडी लोकमार्गलाई उत्तरी सिमाना राखी दुई नम्बर प्रदेशमा राख्न वा सप्तरी जिल्लालाई एक नम्बर प्रदेशमा राख्न वा झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र उदयपुरसहितको छुट्टै प्रदेश कायम गरेर समस्या समाधान गर्न माग समेत विज्ञप्ती मार्फत गरीएको छ । 
साथै बेलामा विभिन्न ठाउँमा भइरहेको झडप र रक्तपातले देशलाई झन अस्थिर बनाउने निष्कर्ष निकाल्दै जनधनको थप क्षति हुन नदिनका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रहरूलाई अधिकतम संयमता अपनाउन तथा आन्दोलनरत पक्षहरुलाई अवाञ्छित घुसपैठ हुन नदिन र शान्तिपूर्ण प्रदर्शन गर्न अनुरोध गर्दै विभिन्न खाले असन्तुष्टी र जायज मागलाई सम्बोधन गरेर मात्र समाधान गर्न सकिने भएकोले राजनीतिक प्रतिबद्धतासहित समाधान खोज्न नेपाल सरकारसँग अनुरोध गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट