News Category 2072/05/19

मधेशी महिला पनि अब सरकारको गोली खान पछि नहट्ने ः रेणु यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ भदौं । 
मधेशी महिला मोर्चा लगायत अन्य महिलाहरुद्वारा शुक्रबार राजविराजमा बिशाल झाडु जुलुस प्रदर्शन गरिएको छ । 
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणमा जिल्लाको विभिन्न गाउँबाट झाडुसहित आएका महिलाहरुको झाडुसहितको जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । 
सो सभामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादवले मधेशको अधिकारका लागि अब मधेशी महिलाहरु पनि बलिदानी दिन तयार रहेको बताउनुहुँदै भन्नुभयो, “सरकारलाई तागत छ भने संविधान जारी गरेर देखाओस् ।” 
उहाँले विगतमा भएको सम्झौता कार्यान्वयन नभएसम्म सरकारसँग अहिले वार्ताको कुनै औचित्य नरहेको उल्लेख गर्नुभयो । उपाध्यक्ष यादवले मधेशका जनताहरु अब आर या पारको लडाईमा ओर्लिसकेको बताउँदै वर्तमान सरकारले मधेशीमाथि गोली प्रहार गरेपनि अब मधेशी जनताहरु हक अधिकार प्राप्तिको लागि पछाडी नपर्ने उदघोष गर्नुभयो । 
उहाँले वर्तमान सरकारले मधेशीलाई बलि चढाएर मुक्ति गर्न खोजेको आरोप लगाउँदै अर्बौ रकम खर्चेर सरकारले गोली निकासा गर्दै आएको छ तर अब मधेशी महिलाहरु पनि सरकारको गोली खान पनि नहट्ने बताउनुभयो । 
मधेशी महिला मोर्चा एवं सद्भावना पार्टीका महिला मंचकी पुनम यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा सभासद लक्ष्मी चौधरी, नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय सदस्य सावित्री पण्डित, तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रिय सदस्य साधना झा, संघिय समाजवादी फोरम नेपालकी  सोमिन्द्रा देवी साह, गिता यादव, नेपाल रौनियार संघकी ललिता गुप्ता, तमलोपाकी सरिता झा, संचार यात्रा नेपालकी करुणा झा, सदभावना पार्टीकी मिना साह, दलित महिला नेतृ ज्ञानी देवी सरदार, रमिला साह, एमाओवादीकी पार्वती चौधरी, थारु महिला सभाकी अध्यक्ष लक्ष्मी चौधरी, शिक्षक चित्रलेखा देव, महिला नेतृ सुनिता साह लगायतका बक्ताहरुले मधेशको अधिकार प्राप्ति नभएसम्म मधेशको आन्दोलन नरोकिने उदघोष गर्नुभयो । 
यसैबिच सदभावना पार्टीले सप्तरीको बभनगामाकटीस्थित तोपा हाटमा शुक्रबार मधेशी जनजागरण अभियानको आयोजना गरेको छ । 
स्थानीय मो. अलि हुसेनको अध्यक्षता तथा सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबुको प्रमुख आतिथ्यमा आयोजित सो अभियानमा पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, जगदिश प्रसाद दास, देवन सदा, लक्ष्मी नारायण दास, ललन कुमार दास लगायतका बक्ताहरुले मधेशको अधिकार प्राप्त नभएसम्म आन्दोलनलाई यथावत राखिने बताउनुभयो । 
यसैगरी शम्भुनाथ आन्दोलन परिचालन समितिद्वारा शुक्रबार सप्तरीको शम्भुनाथ नगरपालिकमा मसाल जुलुस प्रदर्शन गरेको छ । आन्दोलन परिचालन समितिका संयोजक तेज नारायण चौधरीको नेतृत्वमा निकालिएको सो मसाल जुलुस शम्भुनाथ नगरपालिकाको विभिन्न स्थानको परिक्रमा गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । 
पुर्व पश्चिम राजमार्गलाई पुर्ण रुपमा ठप्प पार्नको लागि चेतावनी स्वरुप सो मसाल जुलुस प्रदर्शन गरिएको अध्यक्ष मण्डलको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट