News Category 2072/07/14

आन्दोलनलाई अझ सशक्त रुपले अगाडी बढाउन बौद्धिक समाजको अपील

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ कात्तिक । 
बौद्धिक समाज सप्तरीले जारि मधेश आन्दोलनलाई अझ सशक्त रुपले अगाडी बढाउन जिल्लाका सम्पूर्ण बुद्धिजिवि, नागरिकलाई अपील गरेको छ । 
वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतामा शुक्रबार राजविराजमा सम्पन्न जारि मधेश आन्दोलन बारे छलफल कार्यक्रममा सो अपील गरेको हो । 
कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ मण्डलले विगत अढाई महिना भन्दा बढी समयदेखी जारि मधेश आन्दोलनका कारण मुलुक आर्थिक संकटबाट गुज्रिरहँदा सरकार आफ्नो अहमका कारण मधेशी जनताको अधिकारको लडाईलाई नबुझेर आन्दोनलाई भारतीय नाकाबन्दीको नाम दिँदै भ्रम मात्र फैलाउन खोजेको आरोप लगाउनुभयो । 
उहाँले अधिकार प्राप्तिको लडाई अझ लम्बिन सक्ने संकेत देखा परेको भन्दै मधेशी जनतालाई यस अवस्थाबाट अलिकति पनि बिचल्लि नहुन आग्रह समेत गर्नुभयो । उहाँले करिब तीन महिनादेखी चलेको आन्दोलनका कारण शिक्षा, व्यवसायी, खेती, स्वास्थ्य क्षेत्र पूर्ण रुपले ठप्प भएको बताउँदै यस्तो अवस्था अझ केही दिनसम्म रहने अवगत गराउनुभयो । 
त्यस्तै कार्यक्रममा बुद्धिजिवि रामनरेश सिंहले आन्दोलनका कारण सम्पूर्ण वर्ग प्रभावित भइसकेकोले अब आन्दोलन कुनै नेताका लागि नभएर सम्पूर्ण आम मधेशी जनताको भावी सन्ततीका लागि भइरहको उल्लेख गर्नुभयो । उहाँले सरकार मधेशी जनताप्रति पूर्ण रुपले उदासिन रहेको भन्दै मधेश आन्दोलनका कारण मुलुकको सम्पूर्ण भागमा जनता त्राहिमाम भइरहेको जिकिर गर्नुभयो । उहाँले अधिकार प्राप्तिको लडाईलाई निरन्तरता राख्नमा जोड समेत दिनुभयो । 
त्यस्तै सेवानिवृत प्राध्यापक अमरकान्त झाले सरकारको मानसिकता मधेशीलाई अधिकार नदिने रहेको भन्दै सरकारले मधेश आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्न खोजेको आरोप समेत लगाउनु भयो । उहाँले राष्ट्रिय मिडिया समेत सरकारकै पक्षमा रहेको भन्दै स्थानिय मिडियाहरुले आन्दोलनमा खेलेको भूमिकालाई प्रसंशा समेत गर्नुभयो । 
प्राध्यापक झाले आन्दोलनको सशक्त सस्त्र नाकाबन्दी नै रहेकोले यसलाई अझ सशक्त गर्नुपर्नेमा जोड दिनुभयो ।  
सो कार्यक्रममा सेवानिवृत शिक्षिका मिना ठाकुर, पूर्वप्राध्यापक भवेन्द्र यादव, विशेश्वर यादव, सुगम्बर यादव, प्रयाग यादव, हेम कुमार मिश्र, पूर्वप्राध्यापक नथुनी दास, वरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिवहरि भट्टराई, संचारकर्मी जितेन्द्र खड्गालगायत आन्दोलनलाई अझ सशक्त रुपमा अगाडी बढाउन आन्दोलनकारीहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 
यसैबीच सोही कार्यक्रममा आन्दोलनलाई मद्दत पु¥याउन तथा समन्वकारी भूमिका निर्वाह गर्न सात सदस्यीय समिति गठन गरेको छ । सो समितिमा पूर्व प्राध्यापक अमरकान्त झा, वरिष्ठ पत्रकार अनिलकुमार अनल, संचारकर्मी जितेन्द्र खड्गा, हेमकुमार मिश्रा, सेवानिवृत शिक्षिका मिना ठाकुर, पूर्व प्राध्यपक भवेन्द्र यादव, सुगम्बर यादव रहनुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट