News Category 2072/07/15

प्रहरी राजमार्ग केन्द्रित हुँदा राजविराजमा चोरीको घटना बढ्यो

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको सदरमुकाम राजविराज नगरपालिकामा विगत केही दिनयता चोरीको घटनामा वृद्धि भएको छ ।
अहिले जिल्लाका सम्पूर्ण प्रहरी रातीको समयमा राजमार्गबाट मालसमान स्कटिङ गरी राजधानी काठमाडौं पठाउनमा केन्द्रित हुँदा नगरमा चोरीको घटना बृद्धि भएको स्थानियहरुले आरोप लगाएका छन् । 
प्रहरी राजमार्ग केन्द्रित हुँदा नगरमा चोरी लगायत अन्य घटना समेत हुन सक्ने सम्भावनालाई स्थानिय प्रशासनले वेवास्ता गर्दै आएको छ । यता प्रहरी रातीको समयमा राजमार्ग केन्द्रित हुने कुरालाई जिल्ला प्रहरी कार्यालय सप्तरी स्विकार समेत गरेको छ ।  
पछिल्लो पटक शुक्रबार राति राजविराज नगरपालिका–५ स्थित सदभावना पार्टीका केन्द्रीय सदस्य हरेकृष्णप्रसाद सिंह हरिबाबुको घरमा लाखौंको धनमाल चोरी भएको हो ।
घरमा कोही नभएको मौका छोपी चोरले घरभित्र रहेको नगद जिन्सी, गरगाहना तथा भाडाकुडा गरी करिब रु १० लाख बराबरको चोरी गरेको सिंहले जानकारी दिनुभयो । 
यस्तै शुक्रबार राती वन कार्यालयको पूर्वपट्टी गल्लीस्थित एक सटरबाट चोरहरुले चोरीको प्रयास गरेका छन् । सटरमा लगाइएको ताला फुटाउन नसक्दा सोही स्थानमा रहेको सार्वजनिक कलको हेन्डल चोरहरुले लगेका छन् । 
यता चोरी कसले र किन गरेको खुल्न नसकेपनि चोरी गर्ने ब्यक्तिको तीव्र रुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि चार दिनअघि मात्र राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको भवनमा बहालमा रहेको कल्याणपोष्ट दैनिक पत्रिकाको कार्यालय समेत रातीको समयमा चोरी भएको छ । सो कार्यालयबाट एक थान एलसिडी, एक थान ल्यापटप र एक थान क्यामरा चोरी भएको थियो । 
घरबाटै मोटरसाइकल चोरी
राजविराज÷राजविराज नगरपालिका वडा नं. ८ सरस्वती टोलबाट शुक्रबार राती एक जनाको घरबाट मोटरसाइकल चोरी भएको छ । 
स्थानिय प्रेम यादवको घरबाट को. १० प ६१६ नम्बरको अपाची कलोरंगको मोटरसाईकल चोरी भएको पीडितले बताएका छन् । 
ओभरसियर समेत रहेका यादवले राती घरमा मोटरसाइकलको हेन्डल लक गरेर राखे् पनि चोरहरुले घरबाटै मोटरसाइकल चोरेर लगेको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट