News Category 2070/04/30

राजनीतिक दलको विरोधका बीच सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइयो

दैनिक समाचारदाता

दैनिक संवाददाता
सिरहा, २९ साउन । 
जिल्ला प्रहरी कार्यालय सिरहाले सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइएको छ । 
यद्दपी मुद्दा नचलाउन राजनीतिक दलहरूले व्यापक दबाब दिए पनि प्रशासनले वास्ता नगरी मुद्दा चलाएको हो । सामाजिक सद्भाव कायम गर्न अप्ठ्यारो हुने भन्दै राजनीतिक दलहरुले उक्त दवाव दिएका हुन् । 
सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार सारश्वर–७ का मोहम्मद रहिम साफी, वडा नं ८ का मोहम्मद जासिम साफी र मोहम्मद मस्तकिम राइनमाथि केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ । उनीहरूलाई सारश्वरनाथमा जल चढाउन आउने दर्शनार्थी युवतीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो । 
    यस्तै, सारश्वरमा लुटपाट र आगजनी गरेको आरोपमा पक्राउ परेका २४ जनामाथि पनि मुद्दा चलाइएको छ भने कटुवा पेस्तोलसहित पक्राउ परेका एक युवकमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । 
आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठकले पक्राउ परेकाहरूलाई बिनासर्त रिहा गर्नुपर्नेलगायतका पाँचबुँदे माग स्थानीय प्रशासनसँग पूरा गराउने सहमति गरेको थियो । तर सो सहमतिलाई बेवास्ता गरी प्रशासनले पक्राउ परेकाहरूमाथि मुद्दा चलाएको प्रति राजनीतिक दलका प्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।
  मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य विजय यादवले पाँचबुँदे सहमतिअनुसार सारश्वर घटनामा पक्राउ परेकाहरूमाथि प्रशासनले चलाएको मुद्दा फिर्ता लिनुपर्ने बताउनुभयो । 
सारश्वरमा सद्भाव कायम गर्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, स्थानीय अगुवालगायतको भेलाबाट पक्राउ परेकाहरूलाई बिनासर्त रिहाई, सशस्त्र प्रहरी बेस क्याम्पको स्थापनालगायतका पाँचबुँदे सहमति गरिएको थियो ।
सामाजिक सद्भाव कायम गर्न सद्भाव ¥याली र सामाजिक सद्भाव कायम राख्न गाउँ रेखदेख समिति गठन भए पनि सारश्वरबाट विस्थापित भएकाहरू घर फर्केका छैनन् । घटना पुनः दोहोरिन सक्ने भयले उनीहरू घर नफर्केको स्थानीयवासीले बताएका छन् । विस्थापितहरू घर नफर्केकाले गाउँ सुनसान बनेको छ । 
गत शनिबार सारश्वरनाथ मन्दिरमा जल चढाउन आउने दर्शनार्थी युवतीलाई अभद्र व्यवहार गरेको विषयमा झडप भएको थियो । उक्त झडपमा ५२ घरमा लुटपाट र ११ वटा घरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट