News Category 2072/08/04

मोर्चाले विद्यालय, क्याम्पसमा बिहानको कक्षा संचालन गराउन र औषधी ल्याउन दिने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ मंसिर । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विद्यालय क्याम्पसहरुलाई बिहानको समयमा कक्षा संचालन गर्ने गरि पठनपाठन सूचारु गर्ने निर्णय गर्दै बिरामीहरुको स्वास्थ्य उपचारलाई गम्भिरतापूर्वक लिई मानवताको नाताले औषधी, अक्सिजन र स्वास्थ्य सम्बन्धि उपकरणहरुलाई दिनको समयमा बिराटनगर सीमानाबाट मात्र ल्याउन दिने लगायतका निर्णयहरु गरेको छ ।   
मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवले बिहीबार संयुक्त विज्ञप्ति जारि गर्दै सो निर्णयहरु गरेको उल्लेख छ । 
जारि विज्ञप्तिमा सीमान्तकृत समुदायहरुले उठाएको मुद्दाहरुलाई वार्ताद्वारा सम्बोधन गर्न सरकार एवं तीन दल नेपाली काँग्रेस, एमाओवादी र एमाले गम्भिर नरहेको भन्दै चालु आन्दोलनलाई अझै बढी सशक्त रुपले जारि राख्ने निर्णय समेत गरेको छ । 
यस्तै आन्दोलनलाई अझै सशक्त एवं प्रभावकारी बनाउन यातायात, बजार, कलकारखाना बन्द गर्नुका साथै सीमानाका र राजमार्ग अवरुद्ध गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । 
यसैगरि मंसिर ५ गतेदेखी राजमार्ग अवरुद्ध लगायतका कार्यक्रमहरुलाई निरन्तरता राख्ने निर्णय गर्दै मंसिर ६ गते प्रमुख शहरहरुमा मसाल जुलुस प्रदर्शन गर्ने निर्णय गरिएको जारि विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा आन्दोलन जारि भएको १०० औं दिन मंसिर ७ गते सोमबार दिनको १ बजे बीर अमर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न तराई मधेशलगायत देशका विभिन्न ठाउँका चोकहरुमा आम जनसमुदायको सहभागितामा सपरिवारसहित ५ मिनेट मौन धारण गर्ने कार्यक्रम तय गरिएको उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट