जनकपुरपछि, विरगन्जमा विद्यार्थीद्वारा मानव साङ्गलो बनाएर सरकारको विरोध
Tuesday, December 01, 2015
दैनिक संवाददाता
वीरगन्ज, १४ मंसिर ।
विद्यार्थीले वीरगन्जको मुख्य सडकमा सोमबार बिहान मधेश आन्दोलनको समर्थन गर्दै मानव साङ्गलो बनाएर सरकार बिरुद्ध प्रदर्शन गरेका छन् ।
मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वीरगन्जमा अध्ययनरत विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्डसहित वीरगन्ज परवानीपुरको मुख्य सडकखण्डमा मानव साङ्गलो बनाएर विरोध प्रदर्शन गरेका हुन् ।
हत्या हिंसा बन्द गर, मानवअधिकारको ग्यारेन्टी गर, पढ्न पाउने अधिकार सुनिश्चित् गर, मधेसको अधिकार स्थापित गर तथा वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोजजस्ता विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर बिहान ९ देखि ११ बजेसम्म प्रदर्शन गरिएको थियो ।
वीरगन्जको छपकैया, नारायणी उपक्षेत्रीय अस्पताल, बिर्ता, आदर्शनगर, महावीरस्थान, माइस्थान, घण्टाघर, मुर्ली, पावरहाउस चोक, चिनीमिल, गण्डक र परवानीपुरलगायतका स्थानमा विद्यार्थीले एकअर्काको हातमा हात जोडेर मानव साङ्गलो प्रदर्शन गरेका थिए ।
निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घलगायतका सङ्घसंस्थाको सक्रियतामा यस्तो प्रदर्शन गरिएको हो ।
यसअघि शनिबार जनकपुरमा करिब २५ हजार विद्यार्थीहरुे मानव साङ्गलो बनाएर मधेश आन्दोलनप्रति एक्यबद्धता जनाएका थिए । जनकपुर बजारको परिक्रमा पश्चात् स्थानिय बाह्र विगहा मैदानमा विद्यार्थीहरुले मानव साङ्गलो प्रदर्शन गरेका थिए ।