News Category 2072/09/05

राष्ट्रपतिका अंगरक्षक तथा सुरक्षाकर्मीहरु जूत्ता चप्पल, छालाका बेल्ट लगाएर मन्दिर भित्र प्रवेश गरेकोप्रति मिथिला संस्कृतिमाथिको प्रहार ः महन्थ

दैनिक समाचारदाता

जनकपुर÷जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले ’रामजानकी विवाह महोत्सव’को क्रममा गत बुधवार विवाह महोत्सवमा सहभागी भएकी राष्ट्रपति विद्यादेवी भण्डारीका निजी अंङरक्षक तथा सुरक्षार्थ खटिएका अन्य सुरक्षाकर्मीहरु जूता चप्पल, छालाका बेल्टआदि लगाएर मन्दिर भित्र प्रवेश गरेकोप्रति मिथिला संस्कृतिमाथिको प्रहार भएको बताउनुभएको छ ।
सो बेला खोजी कुकुरहरुलाई मन्दिर भित्र छिराइएको थियो । त्यस्तै राष्ट्रपति भण्डारीको बिरोध गर्न पुगेका केही आक्रोशित स्थानीयवासीले मन्दिरको गर्भगृह (मूर्ति राखिएको पवित्र स्थान) सम्म जूत्ता लगाएरै प्रवेश गरेको बताउनुभयो । उनीहरुले गर्भगृहमा रहेको चाँदीको ढोकामा तोडफोड समेत गरेका थिए ।
शनिवार पत्रकार सम्मेलन आयोजन गरी दासले भन्नुभयो, “सबैलाई थाहा छ ,मन्दिर भित्र जूत्ता चप्पल लगाएर प्रवेश गर्न निषेध छ र पनि जानी जानी मन्दिर भित्र प्रवेश गर्नु अपराध हो ।” मन्दिर भित्र प्रवेश गरी तोडफोड गर्ने स्थानीयवासीको तस्वीर तथा भिडियो आफूसंग सरक्षित रहेको बताउनुभयो । 
महन्थ दासले आफूले राष्ट्रपति भण्डारीलाई निम्तो दिएर नबोलाएको दावी गर्नुभयो । उहाँले महन्थहरु भूमिसुधार मन्त्रालयको मातहातमा हुन्छन्, मन्दिर भित्र आउने श्रद्धालुलाई रोक्न नसकिन्ने बताउँदै भिआइपीहरुलाई माला प्रसाद दिएर पठाउने परम्परा रहेको उल्लेख गर्नुभयो । 
मिथिलाको परम्परा विपरीत एकल महिलालाई वैवाहिक कार्यक्रममा मुख्य अतिथि बनाएको भन्दै अधिकांश जिल्ला स्तरीय नेताहरुले सार्वजनिक रुपमै आपत्ती जनाएका थिए । यद्यपि शनिवार कान्तिपुरसंगको भेंटमा तमलोपा धनुषाका अध्यक्ष परमेश्वर साहले आफूहरुको आशय एकल महिलालाई अपमान गर्नु नभएको बताउनुभयो । 
राष्ट्रपति भण्डारी जानकी मन्दिर प्रवेश गरे यता मन्दिर अशुद्ध भएको उल्लेख गर्दै मधेस अधिकार संघर्ष समतिले बिहीवार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवार मन्दिर शुद्धीकरण गरेका थिए । उनिहरुले गंगाजलबाट मन्दिरको भित्री तथा बाहिरी भाग पखालेका थिए ।  
यसै गरी शनिवार संयुक्त युवा संघर्ष समितिको अगुवाईमा मन्दिरको मुख्य ढोकालाई दूध,दही,घृतआदिबाट शुद्धीकरण गरिएको थियो । समितिका अध्यक्ष धर्वेन्द्रकुमार साहले मन्दिरभित्र जूत्ता चप्पल लगाएर प्रवेश गरेको कारण शुद्धीकरण गरिएको दाबी गर्नुभयो । 
यता सो घटना सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको छ । रामजानकी विवाह महोत्सवको क्रममा जानकी मन्दिरको गर्भगृहमा जूत्ता चप्पल लगाएर प्रवेश गरेको तथा राष्ट्रपतिलाई निम्तो दिई बोलाएरनबोलाएको घटना बारे छानविन गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छानविन समिति गठन गरेको हो ।
समितिमा मोर्चा सम्बद्ध चारै दलका जिल्ला स्तरका नेतासँगै आन्दोलनरत्त अन्य दल तथा संघ संस्थाका प्रतिनिधीहरु पनि सदस्य छन् ।
समितिले शनिवार जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसँग भेटी घटना बारे जानकारी लिएका थिए । यसै गरी मन्दिर भित्र प्रवेश गरी तोडफोड गर्ने व्यक्तिको खोजी भई रहेको समितिका सदस्य राजेशकुमार कर्णले जानकारी दिनुभयो ।
यसअघि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दिउँसो विवाह पञ्चमीका अवसरमा जानकी मन्दिर परिसर पुग्दा मधेसी मोर्चा विरोधमा उत्रेपछि विवाह मण्डप भिडन्तस्थल बनेको थियो । 
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको कडा सुरक्षाकाबीच मन्दिर परिसर पुगेकी उहाँलाई कालोझन्डा देखाउन उत्रेका मधेसी मोर्चाका कार्यकर्ताहरुले पेट्रोल बमसमेत हानेका थिए ।
राष्ट्रपतिको भ्रमणबारे थाहा पाएका मोर्चाका कार्यकर्ताहरुले जानकी मन्दिर परिसर तथा जनकपुरका ठाउँठाउँमा राष्ट्रपति भण्डारीलाई कालोझन्डा देखाइ नाराजुलुस गरेका थिए । राष्ट्रपतिलाई दर्शन गर्न दिएको भन्दै जानकी मन्दिरका महन्थमाथि आक्रमण प्रयास भएपछि प्रहरीले मोर्चाका कार्यकर्तालाई मन्दिर परिसरबाट लखेटेको थियो ।
मोर्चाका कार्यकर्ताले ढुंगा र पेट्रोल बम बर्साएपछि प्रहरीले सात सेलबढी अश्रुग्यास हानेको छ । घटनामा परेर ६० जना बढी मोर्चाका कार्यकर्ता र दर्शनार्थीहरु घाइते भएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट