News Category 2072/09/17

प्रहरीको विशेष घेरा पश्चात् पनि डा. राउतले दिए प्रशिक्षण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ पुस । 
स्वतन्त्र मधेश गठबन्धन सप्तरीले प्रहरीको विशेष घेरामा आफ्नो जिल्ला परिषद् बिहीबार राजविराजमा सम्पन्न गरेको छ । 
विभिन्न जिल्लामा गठबन्धनले आफ्नो कार्यक्रमलाई निरन्तरता दिने क्रममा बिहीबार राजविराजमा जिल्ला परिषद् सम्पन्न गरेको हो । 
नेपाल प्रहरीका प्रहरी निरीक्षक सुरज खड्काको नेतृत्वमा कार्यक्रम स्थल बाहिर प्रहरीको बाक्लो उपस्थिति समेत रहँदा रहँदै सम्पन्न परिषद्मा गठबन्धनका संयोजक डा. सीके राउतले कार्यकर्ताहरुलाई बिशेष प्रशिक्षण दिनुभएको थियो । 
कार्यक्रममा राउतले छुट्टै मधेश देश बनाउने प्रकृयादेखि शान्तिपूर्ण रुपमा अगाडि बढ्नेमा जोड् दिनु भएको थियो । शान्तिपूर्ण बाटोमा लाग्न भन्दै उहाँले बन्दुक उठाउने काम तथा हिंसा मच्चाउने कुनै किसिमको गतिविधीमा नलाग्न सबैसँग आग्रह गर्नुभयो । 
राउतले प्रोजेक्टरको माध्यमले कार्यकर्ताहरु माझ प्रस्तुती दिनु भएको थियो । हिंसाको राजनीति कतै पनि सफल नभएको जनाउँदै उहाँले शान्तिपूर्ण बाटोमै लागेर मधेशलाई छुट्टै राष्ट्र बनाउने उहाँको भनाई थियो ।
यता कार्यक्रम सुरु भएको दुई घण्टापछि कार्यक्रम स्थल राजविराजस्थित साह धर्मशाला बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको वाक्लो घेराबन्दी रहेको थियो । सो घेराबन्दी पश्चात् धर्मशालाको मूल ढोका लगाएर गठबन्धका कार्यकर्ताहरुले संयोजक राउतबाट संक्षिप्त रुपमा निर्धक्क प्रशिक्षण लिएका छन् । 
यसअघि गठबन्धनले मधेशका विभिन्न जिल्लामा जनमत संग्रह समेत गर्दै आइरहेको छ ।  
करिब चार घण्टाको प्रशिक्षण पश्चात् डा. सीके राउत मूल ढोकाबाट बाहिर निस्कनु भएको थियो । सोही बीचबाट प्रहरीको घेराबन्दी तोड्दै डा. राउत एक कार्यकर्तासँग मोटरसाइकलमा बसेर निर्धक्क आफ्नो घर फर्केका थिए ।
प्रहरी श्रोतका अनुसार माथिको आदेशमा राउतलाई नियन्त्रणमा लिने तयारी गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट