News Category 2072/09/20

आत्मरक्षाका लागि मधेशी जनताले हतियार खोस्ने ः मातृका यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ पुस । 
नेकपा (माओवादी)का संयोजक मातृका प्रसाद यादवले राज्य पक्षले अब पनि मधेशी जनतामाथि हतियार देखाएर दमन गर्न खोजे सोही हतियार खोसेर मधेशीहरु आफ्नो आत्मरक्षा गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । 
मधेशी पत्रकार समाज सप्तरीद्वारा आइतवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो चेतावनी दिँदै संयोजक यादवले झण्डै पाँच महिनादेखी जारी शान्तिपूर्ण मधेश आन्दोलनमा राज्यले अनावश्यक दमन गरिरहेको बताउनुभयो । 
मधेशीहरुको पुर्खाले बनाएको काठमाडौंमा अहिले पहाडी शासक वर्गले राज्य गरिरहेको जिकिर गर्दै उहाँले अहिलेको नेपाल गोर्खा राज्यको बिस्तारित रुप रहेको उल्लेख गर्नुभयो । संयोजक यादवले राज्य पक्षले नेपाललाई फिजिकरण गर्न खोजिएको आरोप समेत लगाउनुभयो । 
उहाँले गोर्खाली साम्राज्यवाद बिरुद्धको जारि आन्दोलन राष्ट्रिय आन्दोलन भएको दाबी गर्दै अहिलेको आन्दोलनलाई निर्णायक रुपमा परिवर्तन गर्नका लागि मधेशवादी दलहरुलाई अझ सशक्त रुपमा अगाडी बढ्न सुझाव समेत दिनुभयो । 
जारी मधेश आन्दोलन नेताहरुको अदुरदिशताका कारण सडक आन्दोलन मठ–मन्दिरतर्फ उन्मुख भइरहेको आरोप समेत लगाउनुहुँदै उहाँले भन्नुभयो, “मधेशवादी दलका नेताहरु दिल्लीबाट फर्केपछि उनीहरु जारी आन्दोलन न त गर्ने पक्षमा छ न त छोड्ने पक्षमा छन् ।”
एक अर्को प्रसङ्गमा संयोजक यादवले डा. सिके राउतको मागसँग आफू पूर्ण रुपमा सहमत नरहेको प्रष्ट पार्दै अहिले अलग मधेशको माग गर्ने बेला नआएको प्रष्ट्याउनुभयो । उहाँले डा. सिके राउतसँग बैचारिक बहस गर्न तयार रहेको बताउनभयो । 
पत्रकार सम्मेलनमा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन परिचालन समितिका प्रवक्ता बलराम यादव, पार्टीका केन्द्रीय सदस्यद्वय जगत यादव, महेश यादव, जिल्ला अध्यक्ष जयप्रकाश यादवलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट