News Category 2072/09/22

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएकाहरुबाट सानो चाइनिज पेस्तोलबाट असईमाथि गोली प्रहार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ पुस । 
सोमबार साँझ करिब ५ बजेर ३० मिनेटमा अज्ञात समूहले सप्तरीको नर्घो गाविस ६ स्थित झौरहा चौक नजिक रहेको कल्भर्ट अगाडी प्रहार गरेको गोलीबाट ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (असई) रमेश सुब्बामाथि सानो चाइनिज पेस्तोलले प्रहार गरेको खुलेको छ । 
सुब्बामाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाको समूहले सानो चाइनिज पेस्तोलले नजिकबाट दुई राउण्ड गोली प्रहार गरिएको स्थलगत अनुगमनबाट देखिएको हो । 
यसअघि सोमबार राती सप्तरीका एसपी नेतृत्वको टोलीले सो घट्नाको अनुगमन गरिसकेको छ । यता मंगलबार बिहान संचारकर्मी र अधिकारकर्मीको एक टोली घट्नास्थलको अनुगमन गरेको छ । 
असई सुब्बाको सोमबारै झुटकी प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा सरुवा समेत भइसकेको थियो । सुब्बाको स्थानमा आएका अर्का असई मिन बहादुर क्षेत्रिले सो कुराको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सोमबार साँझ रवाना लिएर मोटरसाइकलमा हिडिसकेपछि घटना घटिसकेपछि मात्र आइपुगेको असई क्षेत्रिले जानकारी दिनुभयो । 
प्रहरी चौकी आइपुगेपछि मात्र असई क्षेत्रिले गोली प्रहारबारे थाहा पाउने बित्तिकै घटनास्थल पुगेर अनुसन्धान गरेपछि असई सुब्बालाई सानो चाइनिज पेस्तोलको प्रयोग गरी हत्या गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “घट्नास्थलमा ६ एमएमको २ वटा खोका समेत बरामद भएकाले गोली यसै पेस्तोलबाट प्रहार भएको हुन सक्छ ।” 
इलाका प्रहरी कार्यालय गोबरगाढा दरबन्दी भएका सुब्बालाई गत साउनमा काजमा झुटकी प्रहरी चौकीको इन्जार्च बनाएर पठाइएको थियो । झापाको भद्रपुर नगरपालिका १० निवासी सुब्बा २१ पुसमा क्षेत्रीलाई बरबुझारथ गरेर जिल्ला प्रहरी कार्यालय जाने कार्यक्रम तय थियो । 
प्रहरी चौकीदेखि एक किलोमिटरको दूरीमा रहेको नर्घाेको झौहरा हाटबाट चिया पिएर तथा घुमघाम गरेर फर्किरहेका सुब्बामाथि साँझ ५ः३० बजेतिर हटिया नजिकै गोली प्रहार गरिएको स्थानीयहरुले बताएका छन् ।
गोली लागेको थाहा पाएपछि घट्नास्थलमा आएका सयौं सर्वसाधारणमध्ये स्थानीय कारी मण्डलले गोली लागेपनि असई साब अन्य स्वस्थ्य मान्छेजस्तै कुराकानी गरिरहेको र अस्पताल पु¥याउन ढिलो भएका कारण ज्यान गएको बताए । 
स्थानीयहरुका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सबार व्यक्ति नजिकै आएर गोली प्रहार गरेको जानकारी सुब्बाले नै दिएका थिए । गोली लागेको अवस्थामा पनि सबै व्यक्तिसँग स्वस्थ्य व्यक्तिजस्तै कुरा गरेर चाँडो अस्पताल पु¥याउन उनले भनेका थिए । तर आधा घण्टापछि आएको सशस्त्रको गाडीले उनलाई अस्पतालतर्फ लगेपनि बाटोमै ज्यान गयो । 
असईको हत्या भएपछि मण्डलसहित त्यस क्षेत्रका बासिन्दाहरु शोकमग्न बनेका छन् । उनीहरुले सबैसँग मिल्ने स्वभाब भएका सुब्बामाथि गोली प्रहार गरेको सुन्दा एकछिन विश्वासै नलागेको बताए ।
यसैबीच जिल्ला प्रहरी प्रमुख उपरीक्षक भीम प्रसाद ढकालले हत्याराको खोजी तिब्र रुपमा भइरहेको बताएका छन् । उनले शंकास्पद ठाउँहरुमा प्रहरी परिचालन गरेर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट