News Category 2072/09/26

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आन्दोलनका नयाँ कार्यक्रमको घोषणा

दैनिक समाचारदाता

राजविराज÷संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा धर्नासहितका आन्दोलनलाई यथावत राख्दै आन्दोलनका नयाँ कार्यक्रमहरुको घोषणा गरेको छ ।
जस अनुसार २८ गते जिल्ला सदरमुकाममा बिशाल जुलुस प्रदर्शन एवं बिरोध सभा गर्ने, ३० गते आन्दोलनका क्रममा सरकारद्वारा गरिएको हिंसा, हत्या एवं दमन सम्बन्धि फोटो, चित्र तथा बृत्तचित्र प्रदर्शन गर्ने, माघ २ गते लाठी जुलुस प्रदर्शन गर्ने, ४ गते मसाल जुलुस प्रदर्शन, ५ गते सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा बलिदान दिवस मनाउने र ७ गते गाउँ नगरसम्म विरोध सभा गर्ने तथा जारी आन्दोलनका क्रममा भइरहेको अन्य कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
तीन दिनसम्म चलेको मोर्चाको बैठकले सरकार वार्ताप्रति गम्भीर नभएको आरोप समेत लगाएको छ । औपचारिक र अनौपचारिक गरी २५ पटकभन्दा बढी वार्ता भएको भन्दै मोर्चाले वार्ता र सम्वादबाट मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायको मुद्दाहरुको सम्बोधन प्रति प्रष्ट दृष्टिकोणको अभावले वार्ता परिणाममुखी हुन नसकेको ठहर गरेको छ ।
राज्य संचालकहरुको नश्लवाली चिन्तन र एकल जातीयतामा आधारित अन्धराष्ट्रवादी मानसिकतामा कुनै परिर्वतन नभएको र सरकारको नेतृत्वमा रहेकाहरुले मधेसी लगाष्गतका सीमान्तकृत जनताप्रति अपमानजनक अभिव्यक्ति दिने क्रम समेत नरोकिएको मधेसी मोर्चाले बताएको छ ।
मधेसी मोर्चाले संसदमा रहेका संविधान संशोधन विधेयक परिर्माजन विना पारित भए आफूहरुले उठाएको मुद्दा सम्बोधन नहुने र आफूलाई मान्य नहुने बताएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट