News Category 2072/09/29

आन्दोलनका क्रममा मधेशमा व्यापक प्रहरी दमन र मानवअधिकारको उलंघन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ पुस । 
जारि मधेश आन्दोलनका क्रममा मधेशमा प्रहरी दमन र व्यापक मानवअधिकारको उलंघन भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । 
सेकडिहुरफको आयोजनामा मंगलबार राजविराजमा सम्पन्न मधेश आन्दोलन र मानवअधिकारको अवस्था विषयक अन्तरक्रियाका सहभागि वक्ताहरुले सो कुरा बताएका हुन् । 
शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले घर घरमा छिरेर निर्दोष जनतालाई कुटपिट गर्नुदेखी लिएर महिला समेतलाई गालिगलौज गरेको वक्ताहरुले दाबी गरेका छन् । यस्तै आन्दोलनका क्रममा आन्दोलनकारीहरुलाई प्रहरीले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका कारण पनि आन्दोलनकारी झनै आक्रोसित भएको तथा प्रहरीको सो व्यवहारले पनि आन्दोलन चर्कनमा थप बल पुगेको चर्चा गरेका छन् । 
सो कार्यक्रममा वक्ताहरुले पाँच महिनादेखी मधेश आन्दोलन जारि रहँदा पनि सरकारले कुनै ठोस निकास दिन नसकेको प्रति गुनासो व्यक्त गर्दै अब पनि राज्य पक्षले निकास नदिए मुलुक अझ ठूलो दुर्घटनामा पर्न सक्ने सम्भावना समेत व्यक्त गरेका छन् । 
आन्दोलनका क्रममा प्रहरीले आन्दोलनकारीहरुलाई दमन गर्न सक्दो सबै बल प्रयोग गरेकोप्रति चिन्ता व्यक्त गर्दै वक्ताहरुले आन्दोलनकारीमाथी बल प्रयोग गर्नु अघि बचाउको कुनै मौका समेत नदिएको गुनासो गरेका छन् । 
सेकडिहुरफका निर्देशक जंगबहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकार नारायण भट्ट, प्रहरी प्रमुख भिम ढकाल, मानवअधिकार आयोगका सदस्य शुशिल प्याकुरेल, अधिकारकर्मी संजु साह,  नागरिक संजालका अध्यक्ष थानसिंह भंसाली, सद्भावना पार्टीका बिनोद यादव, महिला नेतृ पुनम यादव, समाजसेवी शंकर शारदा, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य चित्त नारायण यादव, पुनरावेदन बार इकाईका अध्यक्ष महेन्द्र चौधरी, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष धिरेन्द्र प्रसाद साह र कार्यवाहक अध्यक्ष श्रवण कुमार देव लगायतले सो विषयमा अवगत गराउनु भएको थियो । साथै कार्यक्रममा सप्तरीको मानवअधिकारको अवस्था बारे संस्थाकी अध्यक्ष आभासेतु सिंहले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट