News Category 2072/10/17

सप्तरीमा स्थगित भएका गाउँ अधिवेशन अझ भएन

दैनिक समाचारदाता

राजविराज÷मधेसी मोर्चाको अवरोधले गर्दा शुक्रवार स्थगित भएको नेपाली काँग्रेस सप्तरीका गाउँ तथा नगरपालिकाका वडा अधिवेशन शनिवार पनि हुन सकेन । मोर्चाका कार्यकर्ताहरुको अवरोधले स्थानीय निर्वाचन अधिकृतहरुले सप्तरीका दुई दर्जन गाउँ र केही नगरका वडा अधिवेशन सार्वजनिक सूचना जारी गर्दै स्थगित गरेका थिए ।
तर, स्थगित भएका अधिवेशनहरु एक–दुई दिनमा सम्पन्न हुने नेपाली काँग्रेस सप्तरीले जनाएको छ । सप्तरीको पत्थरगाडा र मलेकपुर गाविसमा आन्तरिक विवाद रहेकाले दुबै गाविसमा निर्वाचनको प्रक्रिया शुक्रवार नै सुरु भएको थियो । तर, मधेसी मोर्चाका कार्यकर्ताहरु पुगेर अवरोध गरेपछि अधिवेशन नै स्थगित भएको थियो ।
काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले मोर्चा कार्यकर्ताहरुको अवरोधको बाबजुद पनि सप्तरीको अधिकांश गाविसको अधिवेशन शान्तिपूर्णढंगले सम्पन्न भएको बताए । ‘केही गाविसहरु स्थगित भएको अधिवेशन एक–दुई दिनमै हुन्छ’, उनले भने, ‘अधिकांश गाविसहरुमा सर्वसम्मतीबाट नयाँ प्रतिनिध चयन भएको छ, आन्तरिक विवाद रहेका गाउूहरुमा पनि सर्वसम्मतको प्रयास भईरहेको छ ।’
यता नेपाली काँग्रेस सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ का पूर्व सभापति एवं जिविस सप्तरीका पूर्व सदस्य देवनारायण यादव गाउँ अधिवेशनबाटै बाहिरिएका छन् । तिलाठी गाविसमा शुक्रवार अबेर राती ४ वटा महाधिवेशन पदकालागि भएको निर्वाचनमा २२ मत मात्रै ल्याएपछि यादव पराजित भएका हुन् । तिलाठीबाट डा. अनिलकुमार झा, अजितकुमार मिश्र, अमिर झा र रामलखन यादव महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । बाँकी पदहरुमा भने तिलाठीमा सर्वसम्मती भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट