News Category 2070/05/08

गोलमेच सम्मेलनको नाममा गोलमाल सम्मेलन नहोस् ः अध्यक्ष महतो

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ७ भदौ । 
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गोलमेच सम्मेलनको नाममा मंसीर ४ गतेको घोषित निर्वाचन सार्ने प्रयास भए त्यो नेपाली जनताको भावना बिपरित हुने बताउनुभएको छ । 
सद्भावना पार्टी सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष महतोले गोलमेच सम्मेलन मंसीर ४ गतेको निर्वाचनको लागि सफल बनाउने उद्देश्यबाट हुनुपर्ने बताउनुभयो । 
गोलमेच सम्मेलनको नाममा निर्वाचन सार्ने षडयन्त्र हुन सक्ने भएकाले सबै सचेत हुनुपर्ने बताउनुहुँदै उहाँले गोलमेच सम्मेलन गोलमाल सम्मेलन नहोस्, त्यसो भयो भने जनताको हित बिपरित हुने धारणा व्यक्त गर्नुभयो ।  
राजनीतिक गतिरोधको अन्त्य गरी निर्वाचन सफल बनाउने उद्देश्यबाट गोलमेच सम्मेलन हुनु ठीक भएपनि गोलमेच सम्मेलनको नाममा मंसीर ४ गतेको घोषित निर्वाचन सार्ने, रोक्ने वा तुहाउने षडयन्त्र भए आफुहरुले नमान्ने चेतावनी समेत दिनुभयो ।
बिभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्न र संघीयता सहितको संबिधान निर्माणका लागि निर्वाचन एक मात्र बिकल्प रहेको बताउनुहुँदै अध्यक्ष महतोले निर्वाचनमा सबै दल सहभागि हुनुपर्ने बताउनुभयो । 
सद्भावना पार्टी सप्तरीका अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा सद्भावना पार्टी निकट महिला मञ्चकी केन्द्रीय अध्यक्ष एंव साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक ममता झाले स्वागत गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट