News Category 2072/11/01

तराईका जिल्लामा मानव अधिकारको अवस्था चिन्ताजनक ः आयोग

दैनिक समाचारदाता

दैनिक संवाददाता
काठमाडौं, २९ माघ ।
राष्ट्रिय मानव अधिकार आयोगले मधेस आन्दोलनबाट बढी प्रभावित जिल्लाहरुमा मानव अधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको निष्कर्ष निकालेको छ । आन्दोलनको क्रममा ज्यान गुमाएका र घाइते भएका परिवारहरुको मानसिक तथा आर्थिक अवस्था दयनीय रहेको आयोगले जनाएको छ ।
मानव अधिकार आयोगका अध्यक्ष, सदस्य तथा सचिव सहितको टोलीले हालै सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो ।
‘अनुगमनका क्रममा ती जिल्लाहरुको मानव अधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको पाएको छ,’ आयोगले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनका कारण लामो समय सम्म सरकारी कार्यालयहरु बन्द हुँदा सर्वसाधारणले दोब्बर जरिवाना तिरेर राजश्व महसुल बुझाउनु परेको तथा प्रहरीले गर्ने महत्वपूर्ण घटनाहरुको अनुसन्धानको काम कारबाही अगाडि बढ्न नसकेको अनुगमनका क्रममा पाइएको छ ।’
आन्दोलनको क्रममा घाइते भएकाहरुको विवरण संकलन गरी उनीहरुको निःशुल्क र प्रभावकारी उपचार गराउन आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले न्यायाधीश, न्यायाधिवक्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी, संचारकर्मी, सर्वसाधारण लगायतसँग सामूहिक रुपमा छलफल तथा अन्तक्रिर्या गर्नुका साथै गैरन्यायिक हत्यासँग सम्बन्धित घटनाहरुको सम्बन्धमा निरीक्षणसमेत गरेको छ । छलफलका क्रममा सहभागीहरुले आयोगले घटना अघि र पछि पनि निष्पक्षरुपमा अनुगमन तथा अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट