News Category 2072/11/03

अधिकृत गुरुङप्रति आफ्नै कर्मचारीको ब्यापक असन्तुष्टी आधा दर्जन बढी आरोप, माग पूरा हुँदैन ः अधिकृत गुरुङ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ फागुन । 
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङप्रति त्यहाँका सम्पूर्ण कर्मचारीहरु व्यापक असन्तुष्टी जनाउँदै आन्दोलित भएका छन् । अधिकृतले आफ्नो एकलौटी ढंगबाट कार्यालयको कामकाज गर्दै आएको भन्दै कार्यरत कर्मचारीहरु अधिकृत गुरुङप्रति आन्दोलित भएका हुन् । 
नगरपालिका कार्यालयका अधिकृत गुरुङले मधेस आन्दोलनकै क्रममा पुस २९ गते नगर परिषद् सम्पन्न गर्नुभएको थियो । सो परिषद्मा कर्मचारीहरुको उपस्थिति न्यून थियो भने राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला व्यक्ति तथा संचारकर्मीहरुको उपस्थिति थिएन् । 
सोही परिषद्मा पारित गरिएका प्रतिवेदन सार्वजनिकीकरण गर्न राखिएको कार्यक्रमका क्रममा शुक्रबार कार्यालयका लेखा अधिकृत र कार्यालय प्रमुखबीच झण्डै कुटाकुटको अवस्था सृजना भएको थियो । तर, सो अवस्थालाई राजनीतिक दलका प्रतिनिधिहरुले साम्य पारि आइतबार दुबैलाई राखेर छलफल गर्ने सहमति हुँदा समेत अधिकृत गुरुङले शुक्रबार साँझै जिल्ला प्रहरी कार्यालय सप्तरीमा लेखा अधिकृत उपर कारवाहीका लागि निवेदन दिनु भएको छ । 
यसैबीच आइतबार दिउँसो राजविराज नगरपालिका कर्मचारी इकाई समितिले कार्यालय प्रमुखलाई सात दिनभित्र आफ्ना मागहरु बारे जवाफ दिन दिइएको ज्ञापनपत्र बारे बसेको छलफलमा कार्यकारी अधिकृत गुरुङले कर्मचारीहरुलाई दुरव्यबहार गरेको प्रति इकाई समितिले खेद व्यक्त गरेको छ । 
इकाई समितिको बैठकले गरेको निर्णयअनुसार अधिकृत गुरुङले “म कुनै जवाफ दिन्न र माग पनि पुरा गर्दिन, अनि अगुवाई गर्ने कर्मचारीलाई देखाई दिन्छु” भनि धम्कि दिएको उल्लेख गर्दै कार्यालयका लेखापाल शत्रुधनलाल दासलाई “तेरो दिन आई सकेको छ, एक महिना भित्र तलाई देखाई दिन्छु” भनि दिएको अभिव्यक्तिले सम्पूर्ण कर्मचारीहरुलाई आश्चर्यमा पार्दै सो अभिव्यक्ति प्रति खेद व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।
आइतबार राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी राखेर कार्यकक्षमा काम गर्नुभएको छ । यसबारे उहाँले धेरै कुरा बोल्न चाहनु भएन् र कर्मचारीहरुको माग र आरोप बारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिनुभयो । उहाँले कर्मचारीहरुको बढुवाका लागि कार्य सूचारु गरिसकेको तथा उपदान बारे कार्यालयको आन्तरिक अवस्था अहिले कमजोर रहेकोले अवस्था सुदृढ हुने बित्तिकै उपदानको पनि समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 
सुरक्षाकर्मी राखेर अधिकृत गुरुङले कार्य गर्दै गरेको दृश्य स्विकृती लिएर क्यामरामा कैद गरेपछि अधिकृत गुरुङले खिचिएको तीन तस्बिर “डिलिट” गर्न यस दैनिकका प्रतिनिलाई दवाब दिनुभएको थियो । सुरुमा अधिकृत गुरुङले कार्यालयमा कामकाज भईरहेको दृस्य खिच्न स्वीकृति दिएपनि पछी आएर डिलिट गर्न सञ्चारकर्मीलाई दवाब दिनु भएको हो ।
यसअघि आइतबारै नगरपालिकाका कर्मचारीहरु प्रमुख बिरुद्ध अवगत गराउन जिल्ला प्रशासन कार्यालय सप्तरी समेत पुगेका थिए । 
यता कर्मचारी इकाई समितिको नेतृत्वमा कर्मचारीहरुको गुनासोका आधारमा कार्यकारी अधिकृतमाथी आरोप लगाउँदै विभिन्न निर्णयहरु गरेका छन् । समितिका अध्यक्ष उमेश प्रसाद यादवले अधिकृत गुरुङमाथी लगाइएको आरोप तथा गरिएको निर्णय उपर ७ दिनभित्र अधिकृतले लिखित जवाफ नदिए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
अधिकृतले कार्यालयका विभिन्न शाखाहरुको शाखा प्रमुखसँग सल्लाह सुझाव जानकारी नलिई आफ्नो मनमानी ढंगले कार्य गर्दै आएको तथा कार्यालयमा रहेको नगर सभा हल रेकर्डेड(अभिलेख) रहेको अवस्थामा कुनै प्रक्रिया नमिलाई संरचना ध्वस्त गरिएको आरोप लगाएका छन् । यस्तै सभाहल भत्काउँदा करिब ३० लाखसम्म आन्तरिक आम्दानी बढ्ने हुँदा त्यसको नगरि अधिकृत गुरुङले मनमानी ढंगले हल भत्काई त्यसको इट्टा, झ्याल, फलाम, पाइप लगायतका सामाग्रिहरु कार्यालयमा रेकर्ड नै नगरि आफूखुशी प्रयोग गरेको आरोप लगाएका छन् । 
त्यस्तै कार्यालयको आर्थिक अवस्था दयनिय रहेकोमा कार्यालयमा कार्यरत कर्मचारीहरुको पारिश्रमिक तलब समेत खुवाउन ग्राहो हुँदा अधिकृतले जुनसुकै शिर्षकबाट भएपनि कर्मचारी भर्ना गरि काम गराईरहेको आरोप लगाइएको छ । यस्तै सरसफाई शाखा तथा योजना शाखा एंव अन्य शाखाहरुमा कार्यरत कर्मचारीहरु तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई कुनै स्थानमा सम्बन्धित शाखा प्रमुखलाई नसोधेर नै परिचालन गरिएको आरोप लगाइएको छ ।
यसैगरि सरसफाइकर्मीहरुलाई विभिन्न निर्माण कार्यहरुमा प्रयोग गरी नगरको सरसफाई अस्तव्यस्त भई द्ुर्गन्धित भएको तथा आगलागिको समयमा फायरम्यानको आवश्यकता पर्ने हुँदा वारुणयन्त्रमा भएका कर्मचारीहरुलाई अन्य शाखामा प्रयोग गरिएकोले अविलम्ब सरसफाई तथा वारुणयन्त्र शाखामा कर्मचारी फिर्ता बोलाउन माग गरेका छन् । 
त्यसैगरि कार्यालयको भवन अति नै पुरानो भएको हुँदा कार्यालयमा कार्य गर्दा कर्मचारीहरुको कोठा कमी हुँदा समेत अधिकृत गुरुङले त्यस्तो अवस्थामा आफ्नो निवास निर्माण गरिरहेको कार्य अविलम्ब बन्द गर्न निर्णय इकाई समितिले गरेको छ । त्यस्तै गत आर्थिक वर्षमा राजनीतिक दलहरुको संयन्त्रको एकीकृत कार्यमूलक योजनाहरु नगर परिषद्बाट पारित गरिएको थियो । तर, सो अनुसार योजनाहरु अगाडी नबढाई अधिकृत गुरुङले आफूखुसी चालु आर्थिक वर्षमा केही योजना परिवर्तन गरी अगाडी बढाईएको स्वयं कर्मचारीहरुकै दाबी छ ।
त्यस्तै कार्यालयमा रहेको सवारीसाधन जेसिबी विभिन्न ठेक्कापट्टा दिएको योजनाको कार्यमा उक्त सवारीसाधन प्रयोग गरिएको तथा बारुणयन्त्र गाडीको समेत प्रयोग गरि दुरुपयोग गरेको आरोप लगाइएको छ । ३०–४० वर्षदेखी सेवा गरेका कर्मचारीहरुलाई उमेरको हदको कारण अवकाश दिँदा उपदानको व्यवस्था बजेटमा समावेश नगरिएको तथा अवकास प्राप्त कर्मचारीलाई एकमुष्ट उपदान दिन माग गरिएको छ ।
२० वर्षदेखी कार्यालयमा कार्यरत कर्मचारीहरुको स्वतः बढुवा हुनुपर्नेमा हालसम्म पनि सो बढुवा हुन नसकेको तथा सो बढुवा प्रक्रिया अविलम्ब सुरु गर्नुपर्ने तथा सरसफाईकर्मी र कार्यालय प्रमुखबीच भएको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट