News Category 2072/11/10

देश टुक्राउने कुरा नेपाली जनता र सरकारलाई मान्य नहुने ः सिंचाई मन्त्री

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
एमाओवादीका केन्द्रीय सदस्य एवं सिँचाइमन्त्री उमेशकुमार यादवले देश टुक्राउने कुरा नेपाली जनता र सरकारलाई मान्य नहुने बताउनु भएको छ । 
क्रान्तिकारी पत्रकार संघ सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले सो कुरा बताउँदै मुलुकलाई विखण्डन गर्नेतर्फ लागेका तत्वलाई सरकारले नछाड्ने चेतावनी समेत दिनुभयो । 
उहाँले वाक स्वतन्त्रताको नाममा कसैलाई जे पाए त्यही बोल्ने छुट नरहेको जिकिर गर्दै विखण्डनको कुरा गर्नेलाई सरकार र जनताले नछाड्ने बताउनुभयो । 
केही विखण्डनकारी तत्वले सप्तरीसहित मधेसका केही जिल्लामा आफ्ना गतिविधि तिब्र बनाएको प्रति आपत्ति जनाउँदै मन्त्री यादवले देशमा विखण्डनको आवाज उठाउनेसँग संविधान विपरित काम नगर्न आग्रह समेत गर्नुभयो । उहाँले देश बिखण्डन कुरा गर्नेलाई सरकारले कारवाही गर्न अलिकति पनि पछाडी नपर्ने चेतावनी दिनुभयो । 
मन्त्री बनेपछि दोश्रो पटक गृह जिल्ला आउनु भएको सिंचाई मन्त्री यादवले शनिवार सप्तरीको महदेवा र फर्सैठ गाविसलाई पुर्ण सिञ्चित घोषणा गर्नुभएको छ । 
यसअघि मन्त्री यादवले बिहीबार सप्तरीको सप्तकोसी नगरपालिका, शुक्रबार शम्भुनाथ नगरपालिका, रामनगर कोदरकट्टी र सिम्राहा सिंग्यौनलाई पुर्ण सिञ्चित गाविस घोषणा गर्नुभएको थियो । 
सिंचाई विभाग पुर्वाञ्चलका निर्देशक बिनोद झा, जल उत्पन्न तथा प्रकोप व्यवस्थापन विभागका महानिर्देशक निरञ्जनदेव पाण्डे सहितको आएको टोलीले नदी अनुगमन गर्दै मन्त्री यादवले सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा  कार्यक्रम सफल पार्न सप्तरीका सबै राजनीतिक दल र जनता सँग आग्रह गर्नुभयो । 
त्यस्तै मन्त्री यादवले सप्तरीको भारदहस्थित प्रसिद्ध कंकालिनी मन्दिरको निर्माणाधिन पोखरीलाई व्यवस्थित बनाउन र सोही ठाउँमा रहेको महुली नदीमा पुल निर्माण गर्ने कार्यको निरीक्षणसमेत गर्नुभयो ।
यसैबीच मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका सप्तरी भारदहका राजीव राउत र पोर्ताहाका रामकृष्ण राउतका परिवारसित मन्त्री यादवले भेटघाट गर्नुभयो । उक्त क्रममा मन्त्री यादवले दुवै सहीद परिवारलाई आर्थिक सहयोगसमेत गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट