News Category 2072/11/13

बन्द हडतालपछि सप्तरीमा ट्राफिक प्रहरी पनि सक्रिय

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ फागुन ।
विगत लामो समयको मधेश आन्दोलन तथा सो आन्दोलनपछि खुलेको बन्द हडतालपछि सप्तरीमा ट्राफिक प्रहरी पनि सक्रिय हुन थालेका छन् ।
लामो समयको बन्द खुलेपछि बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ र ट्राफिक प्रहरी कार्यालय राजविराज लगायतका जिल्लाको विभिन्न स्थानमा रहेका ट्राफिक प्रहरीहरु सक्रिय भएका हुन ।
सोही क्रममा क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयको निर्देशनअनुसार अहिले दिनहुँ जिल्लाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएका छन । 
जसअनुसार पहिलो चरणमा दुई सातासम्म सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रमहरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका निमित्त कार्यालय प्रमुख सई बाबुराम पाण्डेले जानकारी दिनुभयो । 
उहाँले दुई सातासम्म सर्वसाधारणहरुलाई सम्झाई बुझाई देखि लिएर अन टेस्ट मोटरसाईकलहरुमा नम्बर प्लेट लेख्नुका साथै बढ्दो सवारी साधन दुर्घटनालाई न्युनिकरण सम्बन्धित जनचेतनामुलक कार्यक्रमहरु गरिएको जानकारी दिनुभयो । 
सोही अनुरुप करिब एक सय भन्दा बढी अन टेस्ट मोटरसाईकलमा नम्बर प्लेट लेखिएको छ भने अब अगामी दिनहरुमा अन टेस्ट मोटरसाईकल नचलाउँन अनुरोध समेत गरिएको छ । 
त्यस्तै मोटरसाईकलमा तीन जना चढेर यात्रा नगर्न तथा मोटरसाईकल तथा अन्य सवारी साधनहरु विस्तारै चलाउने जस्ता जनचेतना फैलाएको सई पाण्डेले जानकारी दिनुभयो ।
पहिलो चरणकै कार्यक्रम अन्तगर्त जिल्लाको विभिन्न विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना फैलाएको उहाँले बताउनुभयो । 
यसैगरी दोश्रो चरणमा आवश्यक कार्बाही प्रक्रिया अगाडी बढाउँने उहाँले जानकारी दिनुभयो । यता ट्राफिक प्रहरीले जिल्ला विभिन्न स्थानमा चेकजाँचमा समेत कडा पारिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट