News Category 2072/11/29

मुद्दा सम्बोधन गर्न सरकार गम्भीर छैन ः अध्यक्ष यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
बिराटनगर, २८ फागुन । 
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरूप परिवर्तन गरेर मधेसका मुद्दा सम्बोधन गर्ने अवसर दिएपनि त्यसतर्फ सरकार गम्भीर नभएको बताउनुभएको छ ।
बिहीबार साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसको मुद्दाप्रति सरकार गम्भीर नभए चैतको पहिलो हप्तादेखि आफूहरू आन्दोलनमा जान बाध्य हुने बताउनुभयो ।
अध्यक्ष यादवले अझै पनि समय रहेकाले आन्दोलनअगावै मधेसको मुद्दा सम्बोधन गर्न मुख्य दलहरूलाई आग्रहसमेत गर्नुभयो । सीमाङ्कन, सङ्घीयताको स्वरूप तथा प्रदेशको क्षेत्राधिकारलगायतका विषय मोर्चाको मुख्य माग रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष यादवले मधेसको उचित मुद्दा तथा राष्ट्रका सवाललाई सम्बोधन गरेर मुलुकलाई निकास दिन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले जनताको चाहना र भावनाअनुसार मधेसको मुद्दा सम्बोधनमा सहज होस् भन्ने उद्देश्यले आन्दोलनको स्वरूप परिवर्तन गरेको बताउनुभयो । मधेसको मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाने कुरा असम्भव रहेको पनि उहाँले बताउनुभयो ।
मधेसको मुद्दा नमिलेसम्म जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि मधेसी मोर्चा सहभागी नहुने उहाँले बताउनुभयो । उहाँले काँग्रेसको महाधिवेशनबाट आएको नेतृत्वले मधेस समस्या समाधान गर्ने कुरालाई आफूले सकारात्मक रूपमा लिएको बताउनुभयो ।
उहाँले मधेसका मुद्दा सम्बोधन गर्ने विषयमा काँग्रेसका नवनिर्वाचित पार्टी अध्यक्षले गरेको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नसमेत आग्रह गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट