News Category 2073/01/07

तीन थान हतियारसहित त्रिशुलधारी बाबा पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सिरहा, ६ बैशाख । 
सिरहामा त्रिशुलधारी बाबाजीको भेषधारण गरेका एक व्यक्तिको झोलाबाट आईतबार दुई थान कटुवा पेस्तोल बरामद भएको छ । 
भारतीय नम्बरको मोटरसाइकल पछाडी सवार हातमा त्रिशुल र कमण्डल बोकेका हर्कटी गाविस १ बस्ने ५६ वर्षिय भुटाई सदाय (दास) र मोटरसाइकल चालक सोही गाविस ५ बस्ने ४५ वर्षिय हरि गोबिन्द यादवको साथबाट दुई थान कटुवा पेस्तोल र घरमा लुकाइ राखेको एक थान इटलीमा बनेको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विशेष सुचनाका आधारमा धनगढी सडकखण्डस्थित सुखिपुर गाविस वडा नम्बर ७ हाल सुखिपुर नगरपालिका वडा नम्बर ९ दैहिपौडीबाट उनीहरुलाई पक्राउ गरेको हो । 
बाँया हातमा त्रिशुल र कमण्डल बोकेका सदायको काँधमा झुण्डिएको रातो रंगको झोलाबाट दुई थान कटुवा पेस्तोल र एउटा शंख बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु बिगत ८ वर्ष देखी भारतीय बजारबाट हतियार भित्राउँदै सिरहा लगायत आसपासका जिल्लाहरुमा बिक्रि बितरण गर्ने कार्यमा सक्रिय रहेको तथा लागुऔषधको कारोबारमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ । 
हतियार कारोबारीमा संलग्न यादवले कसैले शंका नगरोस् भनेर हतियार ओसार पसारकालागी त्रिशुलधारी बाबाको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले हतियार तस्करी गर्ने  नँया तरिकाको रहस्य खुलेको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट