News Category 2073/01/09

जेठ १ देखि राजधानी केन्द्रित सशक्त आन्दोलन गर्ने तयारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, ८ बैशाख ।
मधेसी दलहरुको संयुक्त गठबन्धन ‘संघीय गठबन्धन’ले अब राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ ।
२७ दल सम्मिलित गठबन्धनले आगामी जेठ १ गतेदेखि राजधानी केन्द्रित सशक्त आन्दोलन गर्ने तयारी गरिरहेको श्रोतले जनाएको छ । 
तराई केन्द्रित आन्दोलन गर्दा सरकार र तीन दलबाट कुनै सुनुवाई नभएको भन्दै गठबन्धनले अब उपत्यका केन्द्रित आन्दोलन गर्न लागेको एक नेताले बताएका छन् । ती नेताका अनुसार बैशाखभरी पनि गठबन्धनका विभिन्न किसिमका दवावमुलक कार्यक्रम हुनेछन् । 
जसअनुसार बिहिबार गठबन्धनले राजधानीको ¥याडिसन होटलमा विदेशी कुटनीतिक नियोगका प्रमुख तथा राजदूतहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दैछ । यस्तै १५ गते जिल्लाका सिडियो मार्फत प्रधानमन्त्रीलाई आफूहरुको मागबारे ज्ञापनपत्र बुझाइने छ भने २१ देखि २७ सम्म सम्पूर्ण सरकारी कार्यालयहरुमा कालो झण्डा गाड्ने कार्यक्रम रहेको छ । 
यद्यपी गठबन्धनको शुक्रबार बस्ने बैठकले आन्दोलनका कार्यक्रमबारे औपचारिक निर्णय गर्ने ती नेताले बताए । उनका अनुसार आन्दोलनका कार्यक्रम तय गर्नका लागि एक समिति समेत गठन गरिएको छ । समितिमा २७ दलका एक–एक प्रतिनिधि रहेको छ ।
गठबन्धनको बुधबारको बैठकबाटै आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएपनि सो कार्यक्रम शुक्रबारसम्मका लागि सारिएको गठबन्धनका नेता शरदसिंह भण्डारीले बताउनुभयो ।
बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफूहरुको आन्दोलन जारी रहेको र अब आन्दोलनलाई राष्ट्रव्यापी बनाउन लागिएको बताउनुभयो । ‘मधेस केन्द्रित आन्दोलन गर्दा क्षेत्रीयतावादीको आरोप लगाइयो र राज्यबाट सुनुवाई पनि हुन सकेन’, उनले भने, ‘राज्यलाई दवाव दिने उद्देशयले अब उपत्यकालाई केन्द्रित गर्दै राष्ट्रव्यापी आन्दोलन गर्न लागेका छौं ।’ 

प्रतिकृया दिनुहोस

ताजा अपडेट