News Category 2073/01/17

सप्तरी र सिरहामा खानेपानीको हाहाकार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 
बैशाख महिनाको शुरुवातसँगै सप्तरी र सिरहामा खानेपानीको हाहाकार भएको छ । प्रचण्ड गर्मीको सुरुवातसँगै जिल्लाको पश्चिम पिप्रा, हर्दिया, दौलतपुर सहितका गाविसमा खानेपानीको अभाव श्रृजना भएपछि त्यहाँका स्थानीयबासीहरु चिन्तित बनेका छन । 
बर्षौदेखि सो गाविसमा बैशाख जेठ महिनामा खानेपानीको हाहाकार भएपछि त्यहाँका सर्वसाधारणहरु निकै पीडित बन्दै गएका छन ।
प्रचण्ड गर्मीको सुरुवातसँगै त्यस आसपासका गाविसहरुमा खानेपानीको हाहाकार मच्चिने गरेको स्थानीयबासीहरुको भनाई छ । स्थानीयहरुका अनुसार आफुहरुलाई बर्षेनी चैत, बैशाख महिनामा खानेपानीको हाहाकार हुने गरेपनि आफुहरुको समस्या न त सरकारले गरेको छ, न त सम्बन्धित निकायले नै ।
त्यस्तै बढ्दो गर्मीसँगै खानेपानीका मुहान सुक्न थालेपछि सिरहाको गोविन्दपुर, बस्तीपुर, धनगढी, नैनपुर, चन्द्रोदयपुर र जमदह लगायतका स्थानहरुमा खानेपानीको चरम अभाव भएको छ । बस्तीमा रहेका खानेपानीको श्रोतहरु रहेका ईनार, ट्युबेल र धारा सुकेपछि खानेपानीका लागि अर्को बस्तीमा धाउनुपर्ने बाध्यता रहेको स्थानीय एमाओबादी नेता देवनारायण महतोले गुनासो पोखे । 
बिगत ७ बर्ष देखी बिभिन्न निकायले आशा दिई निरास मात्रै गर्ने गरेको महतोले बताउनुभयो । “गाउँमा खानेपानीका लागि ट्युबेल जडान हुँदैन, गाउँमा रहेका २० वटा इनार मध्ये १७ वटा सुकिसकेको छ,” स्थानीय ज्ञयान कुमार सिंहले भन्नुभयो – “खानेपानीको समस्या भएपछि खानेपानीका लागि दुई किलोमिटर दुरीको अर्को बस्तीमा पुग्नु पर्ने बाध्यता छ ।” ईनारका लागि पटक पटक प्रयास गरिए पनि सम्बन्धित निकाय मौन देखिएको उनको भनाई छ । 
त्यस्तै, गोलबजार १० स्थित धरमपुर खानेपानिको स्रोत नहुदा घुर्मी खोलामा कुवा उत्खनन् गरी करिब ४० घरधुरीले सिमित मात्रामा दैनिक ६० लिटर पानी मात्र उपभोग गर्ने गरेको छ । यता, मगर, महतो, साह, मुसहर र डोम जातिको करिब दुई सय घर बसोबास रहेको चन्द्रोदयपुरमा पानीको स्रोतको रुपमा २ वटा कुवा मात्र संचालनमा रहेका छन् । 
सार्वजनिक र निजी गरी ३ वटा इनार रहेपनि पछिल्लो ५ वर्षदेखि एक सार्वजनिक र दुई वटा निजी गरी ३ वटा इनार सुकेका छन् । बाँकी रहेको एउटा निजी इनारमा समेत पानी सुक्न लागेपछि स्थानीय जनता चिन्तित बनेको स्थानीय कामेश्वर साहले बताउनुभयो । 
गोलबजार ९ मा फेकन महतोको इनारमा करिब २० घर परिवारले पालैपालो पानी थाप्ने गरेका छन् । त्यो इनारमा समेत पचास साठी फिट मुनिबाट अलिअलि पानी आउने गरेको छ । साह भन्नुहुन्छ  – “इनारको पानी धमिलो आउने गरेपनि पानी लिन स्थानीयवासीको भीड लाग्ने गरेको छ ।” 
उत्तरी क्षेत्रमा खानेपानीको चरम अभाव भएपछि केही महिनाअघि तत्कालीन सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विक सहितको सरकारी टोलीले स्थलगत अवलोकन समेत गरेको थियो । 
यता, सिरहा क्षेत्र नं. ५ का निर्वा्चित सांसद पुष्पकमल दहाल प्रचण्डले सिरहा लगायत तराईका उतरी क्षेत्रमा खानेपानीको समस्या रहेकोले यसलाई चाँडै समाधान गर्ने पटक पटक भाषणबाजी गरेपनि ब्यबहारमा नदेखिएको स्थानिहरुको गुनासो रहेको छ । 
त्यस्तै, नेपाल सरकारका सिचाई मन्त्रि उमेश यादवले अनुगमनका क्रममा खानेपानीको समस्या तत्काल अन्त गर्ने बताएपनि कुनै कार्य अगाडी नबढेको बताईएको छ । खानेपानीको समस्या उक्त क्षेत्रमा बर्षै देखि रहेपनि कुनै सरोकारबालाले यसप्रति चासो नदेखाउँदा स्थानियहरु निराश बनेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट