राजविराज नगरपालिका कर्मचारीद्वारा धर्ना
Wednesday, May 04, 2016
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन राजविराज नगरपालिका कर्मचारीहरुले मंगलबार दुई घण्टा कार्यालय परिसरमै धर्ना दिएका छन् ।
एशोसिएशनका अध्यक्ष उमेश कुमार यादवले गत माघमा कर्मचारी इकाई समितिले राखेको ७ बुँदे मागहरु पुरा गर्नुपर्ने, आ.व.२०७२÷०७३ संशोधित तथा आ.व.२०७३÷०७४ को बजेट परिषद हचुवा भरमा गरेकोले प्रक्रिया पुरा गरी पुन परिषद गर्नुपर्ने, वारुणयन्त्र, कर्मचारीहरुलाई आवास व्यवस्था व्यवस्थित गरी शौचालय खानेपानी समेत व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न १३ बुँदे माँगहरु अघि सारी आन्दोलनको घोषणा गरेको जनाउनु भएको छ ।
त्यस्तै उहाँले कर्मचारीहरुलाई समयमा तलव नदिई ३ महिनाको बाँकी रहेको अविलम्व भुक्तानी दिई अव उप्रान्त समयमै तलव भुक्तानी गर्नुपर्ने, नगरपालिकाको सवारी साधन अधिक मात्रामा निजी रुपमा प्रयोग गरेकोले अव उप्रान्त कार्यालयको काम बाहेक अन्यत्र निजी प्रयोग बन्द गर्नुपर्ने लगायतका मागहरु अघि सारिएको बताउनुभयो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत प्रत्येक दिन थप हुने गरी दुई घण्टा कार्यालयको अति आवश्यक कार्यालयको दैनिक कामकाज बन्द गरी समयमा कार्यालय परिसर अगाडी धर्ना दिने तथा बैशाख २८ गतेदेखि अति आवश्यक सेवा बाहेक कार्यालयको सम्पुर्ण काम बन्द गर्ने रहेको छ ।
साथै एशोसिएशनले उठाएका १३ बुँदे माँगहरु अविलम्ब सम्बोधन नभएको खण्डमा अझै कडा आन्दोलन गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।