News Category 2070/05/20

उम्मेदबार छनौटका लागि बिभिन्न पार्टी भित्र कार्यकर्ताको लविङ

दैनिक समाचारदाता


नवीनकुमार गुप्ता
राजविराज, १९ भदौ । 
आसन्न संविधानसभाको निर्वाचन नजिकै जाँदा सप्तरीमा यसको सरगर्मी बढ्दै गएको छ ।
विभिन्न दलका नेता तथा कार्यकर्ताहरु निर्वाचनप्रति निकै उत्साहित भई आ–आफ्नो प्रिय उम्मेदबारको छनौटका लागि लविङ सुरु गरेका छन् । 
क्षेत्रिय स्तरबाट उम्मेदबारको छनौट हुने हुँदा अहिले उनीहरु आफ्नो क्षेत्रमा सम्पूर्ण ध्यान केन्द्रित गरि लविङ गर्दैछन् । केही दिन अघिसम्म केन्द्रमा रहेको नेताहरु अहिले जिल्ला सदरमुकाम झरिसकेका छन् ।
यता सम्भावित उम्मेदबारहरुको छनौट प्रक्रिया भइरहँदा विभिन्न पार्टीका केन्द्रिय अध्यक्ष पनि जिल्ला दौडहामा लागिपरेका छन् । केन्द्रिय अध्यक्ष जिल्ला पस्ने क्रममा स्थानीय नेताहरुले उहाँहरुको स्वागतका लागि गाउँ गाउँबाट कार्यकर्ताहरु जम्मा गर्ने गरेका छन् । 
केन्द्रिय अध्यक्ष जिल्लामा आएको मौका छोपेर सयौं व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्ने गरेकोले पनि संविधानसभा निर्वाचनप्रति उत्सुकता झनै बढेको छ । केही दिनअगाडी जनतामा निर्वाचन प्रति खासै चासो नरहेपनि अहिले निर्वाचन प्रति चासो बढ्नुको कारण निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम पनि एक हो । 
जनता निर्वाचनप्रति जागरुक, उत्साहित एवं आफ्नो जिम्मेवारी सम्झनुले अब स्थानीय स्तरमा समेत निर्वाचनको रौनक बढेको बुद्धिजिविहरु बताउँछन् ।       
यता केही पार्टी भित्र आ–आफ्नो उम्मेदबारका लागि लविङ गरेको कारण नेता तथा कार्यत्रकर्ताबीच केही मनमुटाव समेत उत्पन्न भएको देखिन्छ । यसको उदाहरण सप्तरी नेपाली काँग्रेसबाट सुरु भएको छ । सप्तरी क्षेत्र नं. ३ का क्षेत्रिय सचिव अमिर झाले आफ्नै अध्यक्षतामा क्षेत्रिय अधिवेशन सम्पन्न गरि सम्भावित उम्मेदबारको नाम सिफारिस गरेको भोली पल्टै क्षेत्रिय अध्यक्ष रामकुमार यादवले सो सिफारिस आधिकारिक नभएको जानकारी दिएका छन् ।
सप्तरी क्षेत्र नं. ५ बाट पनि काँग्रेसले समभावित उम्मेदबारको नाम संचारमाध्यमबाट सार्वजनिक गरे लगत्तै केही नेताहरुले आफ्नो नाम सिफारिस नभएको भन्दै असन्तुष्टी जनाउँदै आएका छन्् । 
मंसीर ४ गतेको संबिधानसभाका निर्वाचनका नेपाली काँग्रेस क्षेत्र नम्बर ५ ले मंगलवार आफ्नो सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
सप्तरीबाट सबै भन्दा पहिला एकिकृत नेकपा माओवादीले ६ वटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नाम केन्द्रीय समितिमा सिफारिस पठाएको थियो भने नेकपा एमालेले गत सोमवार जिल्लाको ६ वटै क्षेत्रबाट सम्भावित उम्मेदबारको नाम सिफारिस गरि केन्द्र पठाइसकेको छ । 
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले पनि अगामी मंसिर ४ गतेको घोषित संविधानसभाको निर्वाचनका लागि जिल्लाको छ वटै क्षेत्रबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरि केन्द्र पठाइसकेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट