News Category 2073/01/29

वर्तमान सरकारले राष्ट्रवादको नाममा साम्यवाद लाद्न खोजेको अध्यक्ष भण्डारीको आरोप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले वर्तमान सरकारले राष्ट्रवादको नाममा साम्यवाद लाद्न खोजेको आरोप लगाउनु भएको छ । 
उहाँले आन्दोलनरत दलहरुको मुद्दामा राष्ट्र सहमति हुनु अहिलेको आवश्यकता रहेको भन्दै राष्ट्र सहमतिको सरकारको कुनै औचित्य नरहेको र राष्ट्र सहमतिको सरकारले लोकतन्त्रलाई नै धरापमा पार्न सक्ने जिकिर गर्नुभयो । 
मंगलबार राजविराजमा पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भण्डारीले वर्तमान सरकार नश्लिय राजनीतिको चिन्तनमा डुबेको र राष्ट्रवादको नारा मात्र नेपाली जनतामा लाद्न खोजेको आरोप लगाउनुभयो । 
उहाँले वर्तमान सरकार जति दिन चल्छ त्यति नै मुलुक संकटमा फस्दै जाने जिकिर गर्दै अहिलेको वर्तमान सरकार इतिहासमै मुलुकको राष्ट्रघाती सरकार साबित भएको दाबी समेत गर्नुभयो । 
अध्यक्ष भण्डारीले वर्तमान सरकारले मधेश र पहाडबीच विभाजन, जातजातीबीच भतभेद र सामाजिक सद्भाव समेत खलबलाउन खोजेको आरोप लगाउनुभयो । मुलुक अहिले राजनीतिक, सामाजिक, भौगोलिक बिखण्डन तर्फ बढीरहेको भन्दै २६ दलीय गठबन्धन जति अगाडी बढीरहेको छ, त्यसरी नै प्रधानमन्त्रीको मानसिक सन्तुलन समेत विग्रिदै गइरहेको उल्लेख गर्नुभयो । 
आन्दोलनरत संघीय गठबन्धन मध्ये एक घटक समेत रहेको रामसपाका अध्यक्ष भण्डारीले नेपालसँग दशकौंदेखी भारतको मित्रता समेत वर्तमान सरकारका कारण चिसिएको दाबी गर्नुभयो । 
सरकारले राष्ट्रपतिको भारत भ्रमण रद्द गरेर राष्ट्रपतिलाई पार्टीको एक साधारण कार्यकर्ताको रुपमा प्रयोग गरिरहेको आरोप लगाउनुभयो । 
एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले मोर्चामा कुनै विवाद नरहेको प्रष्ट पार्दै राष्ट्रिय एजेण्डा लिएर जेठ २ गते सिंहदरबार शान्तिपूर्ण र लोकतान्त्रिक पद्दतीबाट घेराउ गर्ने कार्यक्रमलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । 
सरकारले सिमांकन विवादलाई समाधान गर्न तर्फ चासो नदेखाएको बताउँदै अध्यक्ष भण्डारीले यदी सरकारले यसतर्फ ध्यान दिए गठबन्धनले सिमांकन विवादलाई एक दिनमै समाधान गर्न सक्ने दाबी समेत गर्नुभयो । 
आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका राष्ट्रिय उपाध्यक्ष शेखर सिंह, केन्द्रिय प्रवक्ता केशव झा, जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, उपाध्यक्ष सतिश सिंह लगायत पार्टीका जिल्ला स्तरिय नेताहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट