News Category 2073/01/29

नगरपालिका कर्मचारीहरुको आन्दोलन सहमति पश्चात् स्थगित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
विगत एक सातादेखी आन्दोलनरत राजविराज नगरपालिका कर्मचारीहरुको आन्दोलन मंगलबार विभिन्न निर्णयसँगै सहमति पश्चात् स्थगित भएको छ ।
सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको रोहबरमा, टे«ड युनियनको उपस्थितिमा तथा छानबिन समितिका संयोजक जनक कोइरालाको सहजिकरण तथा आन्दोलनरत कर्मचारीहरुको उपस्थितिमा आन्दोलनरत पक्षको मागहरु उपर छलफल तथा विभिन्न निर्णय पश्चात् आन्दोलन स्थगित भएको हो । 
सहमति भएको निर्णयहरुमा आगामी कार्यक्रम गर्दा सम्वन्धीत शाखाको राय परामर्श तथा सहमती गरि कार्य संचालन गर्ने, नगरपालिका हाताभित्र भत्काएको सभाहलको सामग्रीको ७ दिन भित्र छानवीन गरि जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रतिवेदन पेश गर्ने, वर्तमान कार्यकारीको कार्यकालमा दैनिक ज्यालादारीमा काममा लगाएका अमित रायमाझी र दिपेन्द्र मंडललाई तीन दिन भित्र फिर्ता गर्ने,  सहमती भएको मिति देखि लागु हुने गरि शाखाहरुका कर्मचारीहरुलाई परिचालन गर्दा सम्वन्धीत शाखा प्रमुखहरुको सिफारिसमा मात्र परिचालन गर्ने, बारुणयंत्र नियमित रुपले संचालन गर्ने र कार्यबोझको आधारमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने रहेका छन् । 
त्यस्तै कार्यालय भवनको सम्वन्धमा कार्यालय भवनलाई आवासमा प्रयोग गर्न नपाईने, परिषदको हकमा माथिल्लो निकायमा विशेष परिषद्का लागि मंगलबारै अनुरोध गर्ने र निर्देशन बमोजिम १५ दिन भित्र बिशेष परिषद् सम्पन्न गर्ने, कार्यकारी अधिकृत, लेखाप्रमुख र प्राविधिक प्रमुखको सहमतीमा जे.सी.भी. संचालन गर्ने, चालु आर्थिक बर्षमा परिषदद्वारा पचास लाख र आगामी आर्थिक बर्षभित्र सम्पूर्ण कर्मचारीहरुको उपदान रकम भुक्तान गर्ने, बढुवा प्रकृयाहरु ऐन नियम अनुसार चालु  आ.व. भित्र पुरा गर्ने रहेका छन् । 
त्यसैगरि ज्ञापन पत्र सम्वन्धी मागमा छलफल गर्दा बारुणयंत्र कर्मचारीको  आवास, शौचालय  र खानेपानीको व्यवस्था प्रकृया बिशेष परिषदबाट अगाडी बढाउने, २०७३ बैशाख २९ गते भित्र सम्पूर्ण कर्मचारीको तलव भुक्तानी गर्ने र कर्मचारी आन्दोलन पछि बृद्धि भएको तलव साविक सरह प्रदान गर्ने, कार्य विवरणको आधारमा कार्य जिम्मेवारी १५ दिन भित्र प्रदान गर्ने, जिन्सीशाखा, आ.ले.प. शाखा र बैठक कक्ष ७ दिन भित्र व्यवस्थित गर्ने, ग्यारेज सम्वन्धी निर्णय परिषद्बाट गर्ने, प्यासेज सम्बन्धमा प्राविधिकको राय अनुसार १५ दिनभित्र कार्य गर्ने, पार्किग सम्वन्धमा परिषदको निर्णय बमोजिम गर्ने, मंगलबारकै मितिदेखि कार्यालयका सवारी साधनहरु व्यक्तिगत रुपमा प्रयोग नगर्ने, कार्यालयको शौचालय र युरिनल परिषदको निर्णय बमोजिम व्यवस्था गर्ने, सकशन मेसिन यथाशिध्र संचालनमा ल्याउने रहेका छन् । 
यसैगरि विवाद छानविन समितिले सात दिन भित्र आफनो प्रतिवेदन पेश गर्ने र सो प्रतिवेदनको आधारमा आवश्यक कार्य संचालन गर्ने र नगरपालिका कर्मचारी इकाई समितिद्धारा हाल जारी रहेको आन्दोलनलाई स्थगन गर्ने र दैनिक कार्य सुचारु रुपले संचालन गर्ने निर्णय पश्चात् सहमति भएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट