News Category 2073/02/27

अख्तियारमा सबै भन्दा बढी स्थानिय निकाय बिरुद्ध उजुरी पूर्वाञ्चलमै उजुरी दर्ता हुनेमा सप्तरी दोश्रो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रिय कार्यालयले सप्तरीको स्थानिय निकाय बिरुद्ध सबै भन्दा बढी २ सय ४३ उजुरी दर्ता भएको जानकारी दिएको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकार्वाहीका सम्बन्धमा बुधबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका क्षेत्रिय प्रमुख रबिन्द्र प्रसाद शर्माले सो जानकारी दिनु भएको हो । 
उहाँले शिक्षा तर्फ १ सय ९६, भूमि सुधारतर्फ ५०, स्वास्थ्य तर्फ ४६, गृहतर्फ २८, कृषि तर्फ १६, शहरीतर्फ १६, वन तर्फ १४ र अन्यतर्फ ५९ गरि जम्मा ६ सय ६८ उजुरीहरु दर्ता भएको बताउनुभयो । यो तथ्याङ्क ०७०÷०७१ देखी ०७२÷७३ बैशाख सम्मको हो । 
उहाँका अनुसार ६ सय ६८ उजुरी मध्ये ५ सय ९ वटा फर्छौट भइसकेको छ भने १ सय ५९ वटा उजुरीहरु फर्छौट हुन बाँकी रहेको छ । उहाँले सम्बन्धित कार्यालयहरुसँग माग गरिएको कागजपत्रहरु समयमा दिन नसकेर उजुरीहरु फर्छौट गर्न बाँकी रहेको बताउनुभयो । यस्तै उजुरी दिनेहरुमा अधिकांश बेनामे रहेका छन् । 
पूर्वाञ्चलका १६ जिल्ला मध्ये सबै भन्दा बढी उजुरी दर्ता हुने जिल्ला सुनसरी रहेको छ भने दोश्रोमा सप्तरी रहेको छ । त्यस्तै तेश्रो मोरङ, चौथो झापा, पाँचौं सिरहा रहेको जनाइएको छ । 
त्यस्तै प्रमुख शर्माले भ्रष्टाचार गर्ने र पछि डिप्रेसनमा परेर आफ्नो जीवनै बर्बाद गरिरहेको पाइएको बताउँदै कुलत आजैदेखि छाड्न सम्पूर्ण कर्मचारीसँग आग्रह समेत गर्नुभयो । 
उहाँले एकातिर भ्रष्टाचार गर्ने र अर्काेतर्फ अख्तियारले समात्छ भन्ने डर त्रास समेत रहेकोले अख्तियारको सकृयताका कारण अहिले भ्रष्टाचार गर्नेहरु थोरै डराउन थालेको भन्नुभयोे ।
यस्तै एक अर्को प्रसङ्गमा प्रमुख शर्माले कुनै पनि बहानामा गरिने भ्रष्टाचारलाई अख्तियारले जायज नभन्ने बताउँदै आगामी साउनदेखि विकासीय कामहरुको अनुगमन थालिने र अनियमित भएको पाइएमा संलग्न व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिइने जानकारी दिनुभयो । 
सोही कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बैशाखदेखी असारसम्म कार्यालय समयमा गोष्ठी र सेमिनारहरुको आयोजना नगर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । 
त्यस्तै कार्यालय समयमा कार्यालयमै बस्न र अन्य गोष्ठीहरुमा सहभागी नहुन निर्देशन दिनुहुँदै सरकारको सचिवस्तरीय बैठकले यस्तो निर्णय भएको जानकारी दिनुभयो । 
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उप सचिव नवीन जोशीले अख्तियारको कामकार्वाहीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देवले टिप्पणी गर्नुभएको थियो । 
सो अन्तरक्रियामा सप्तरीका सरकारी कार्यालयका प्रमुखहरु, गाविसका सचिव, सुरक्षा निकायका प्रमुख, संचारकर्मी, गैससका प्रतिनिधि, निर्माण व्यवसायी, उद्योगि, व्यापारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट