News Category 2073/03/05

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा पन्द्र चिकित्सक पक्राउ

दैनिक समाचारदाता

राजविराज÷नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा तीन जिल्लाबाट १५ चिकित्सकहरुलाई पक्राउ गरेको छ । 
सिआइबीको टोलीले बिराटनगरबाट तीन, वीरगन्जबाट नौं र चितवनबाट तीन चिकित्सकहरुलाई पक्राउ गरेको जनाएको छ । 
विराटनगर ६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा अब्दुल कलाम हकलाई पक्राउ गरेको हो । तीनै जना बिराटनगरका चर्चित चिकित्सकहरु हुन् । यसैबीच मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले विराटनगरका तीन जना चिकित्सकलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ ।
प्रहरीले चिकित्सकलाई पक्राउको कारण खुलस्त नखुलाए पनि तीनै जना चिकित्सकको नक्कली शैक्षिक प्रमाणपत्र रहेको बताइएकाले पक्राउ गरिएको अनुमान गरिएको छ । 
यस्तै काठमाडौँबाट आएको सो टोलीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगन्जकै नेसनल मेडिकल कलेजबाट चार र निजी क्लिनिकबाट दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।
नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा कुशराज गिरी, डा सरोजकुमार सिंह, डा पन्नालाल पटेल तथा नेसनल मेडिकल कलेजबाट डा इरसादुल हक, डा महम्मद राहुल्ला, डा निमेष पाल रमन र डा रामकुमार प्रधान तथा वीरगन्जका विभिन्न स्थानका निजी क्लिनिकबाट डा दिनेश साह र डा अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अभियुक्त सबै चिकित्सकको शौक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी सिआइबीमा परेकाले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
यसैबीच चिकित्सक पक्राउ परेको विरोध गर्दै नेसनल मेडिकल कलेज र नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक तथा मेडिकल स्टाफ जिल्ला प्रहरी कार्यालयमा जम्मा भएपछि अस्पतालमा भर्नामा रहेका बिरामी उपचार सेवाबाट वञ्चित छन् । चिकित्सक पक्राउको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय परिसरभित्रै चिकित्सक तथा मेडिकल स्टाफले प्रहरीविरुद्ध नाराबाजी पनि गरेका छन् ।
त्यस्तै शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका तीन चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरी छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट