News Category 2073/03/06

पहिलो खेलमा बिराटनगरको बिजयी सुरुवात

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ असार । 
दोश्रो मदन आश्रित राष्ट्रिय टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार होराइजन क्रिकेट एकेडेमी बिराटनगरले बिजयी सुरुवात गरेको छ । 
सम्पन्न ग्रुप ‘ए’ अन्तर्गतको पहिलो खेलमा होराइजन क्रिकेट एकेडेमी बिराटनगरले आयोजक टिम सप्तरी ११ लाई ७ विकेटले पराजित गरेको हो ।  
वर्षाले खेल ढिला सुरु भएपछि २० ओभरको खेल १४ ओभरमा सीमित भएको थियो । टस जितेर सप्तरी ११ ले पहिलो ब्याटिंग रोज्दै ५ विकेटको नोक्सानीमा ९२ रन स्कोर बनाएको थियो ।  
जसका लागि धिरज दासले सर्बाधिक ३२ रन बनाएका थिए । जसमा १ चौका र ३ छक्का प्रहार समावेश थियो । यस्तै गुनानन्द रोयले १७ तथा अविनाश कर्णले १६ रन योगदान दिए ।  
यता बलिंग तर्फ होराइजनका कप्तान पुष्प थापाले ३ विकेट हात पार्ने क्रममा २१ रन खर्चेका थिए भने मनोज मण्डलले १ विकेट हात पारे ।  
प्रतिउत्तरमा ब्याटिंग गरेको होराइजन क्रिकेट एकेडेमीले १२.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अंकित सुबेदीले ३४ रन ४ चौका र १ छक्काको मद्दतले बनाएका थिए । यस्तै अमित श्रेष्ठले २२ तथा मिनाश थापाले अविजित १३ रन योगदान दिए ।  सप्तरी ११ को लागि उपेन्द्र रोयले ३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच होराइजन क्रिकेट एकेडेमीका पुष्प थापा घोषित भए । 
पहिलो खेल पछि अंक तालिकाको समूह ‘ए’ मा होराइजन क्रिकेट एकेडेमी २ अंकका साथ पहिलो स्थानमा रहेको छ । 
प्रतियोगिता अन्तर्गत सोमबार हुने पहिलो खेल होराइजन क्रिकेट एकेडेमी बिराटनगर बिरुद्ध नेपाल पुलिस क्लब बीच हुनेछ भने दोश्रो खेल होराइजन क्रिकेट एकेडेमी बुटवल बिरुद्ध जनकपुरबीच हुनेछ । 
यसअघि प्रतियोगिताको उद्धघाटन एमाले युवा नेता महेश बस्नेत र एमाले पुर्वान्चल इन्चार्ज परशुराम बस्नेतले बलिंग र ब्याटिंग गर्दै उद्धघाटन गर्नुभएको थियो । 
आइतबार राजविराजमा वर्षा भएपछि स्थानिय राजरंगशालामा पानी जमेका कारण खेल राजविराजस्थित राजदेवी क्रिकेट मैदानमा खेलाइएको थियो । 
लिगकम नक आउट फर्म्याटमा खेलाईएको प्रतियोगिताको फाईनल खेल ९ गते सम्पन्न हुनेछ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट