News Category 2073/03/07

आत्मघाती बम बिस्फोटनमा परी काबुलमा १४ नेपालीको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले सोमबार बिहान गराएको बम विस्फोटनमा परी १४ जना नेपालीको मृत्यु भएको छ । 
काबुलमा सोमबार बिहान नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम आक्रमण भएपछि त्यसमा सवार मध्ये १४ जना नेपालीको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ । 
यता सो आक्रमणमा परी नौं जना घाइते भएको मन्त्रालयको वेबसाइटमा जनाइएको छ । घाइते हुनेमा पाँच नेपाली र चार अफगान नागरिक रहेका छन् । 
एक विदेशी कम्पनीमा काम गर्ने ती नागरिकलाई लिएर गएको बसलाई राजधानी काबुलमा बिहान ५.४० बजे नै आक्रमणकारीहरुले निशाना बनाएका थिए ।
उक्त बसलाई निशाना बनाएर एक हमलाकारीले आत्मघाती बम हानेको र त्यस आक्रमणबाट आक्रमणकारी र उक्त बसमा रहेका १४ जनाको ज्यान गएको गृहमन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
काबुल नजिकैको पुल इ चर्खी सडकमा बस गुडिरहेका बेला एकजना आत्मघातीले बसलाई नै ताकेर विस्फोट गराएको बताइएको छ ।
मध्य काबुलमा रहेको एक विदेशी दूतावासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु सोमबार बिहानै आफ्नो ड्युटीमा जान लागेका समयमा यो दुर्घटना भएको अनुमान गरिएको छ । 
सो आक्रमणपछि त्यस वरपरका अरु सवारीसाधनमा पनि क्षति पुगेको छ । घटनास्थल वरपरका घर पसलहरुमा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । 
यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उक्त घटनामा निधन भएका नेपालीहरुप्रति समवेदना प्रकट गर्नुभएको छ । 
यसैबीच आक्रमणको अफगानिस्तानको तालिवान संगठनले जिम्मेवारी लिएको छ । तालिवान प्रवक्ता जबिउल्लाह मुजाहिदले सोमबार बिहानै विज्ञप्तिमार्फत सो जिम्मेवारी लिएको काबुलबाट प्राप्त समाचारमा जनाइएको छ । 
अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । कार्यकारी प्रमुख अब्दुल्लाहले उक्त बम हमलाको निन्दा गर्नुभएको छ । 
प्रमुख अब्दुल्लाहले आफ्नो ट्वीटर अकाउन्टमा सो घटना आतङ्कवादी कामबाहेक अरु केही होइन भन्दै यसप्रति दुःख व्यक्त गर्नुभएको छ । एजेन्सीहरु 

प्रतिकृया दिनुहोस

ताजा अपडेट