News Category 2073/03/11

वर्षाको पानी घरमा छिरेको भन्दै चक्काजाम, राजविराज कुनौली सडक अवरुद्ध त्रियुगा नदीमा आएको बाढीले सयौ घर डुबानमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० असार । 
सप्तरी सदरमुकाम राजविराज नगरपालिका ९ का बासिन्दाहरु वर्षाको पानी घरमा छिरेको भन्दै चक्काजाम गरेका छन् । 
शुक्रबार बिहानैदेखी उनीहरु राजविराज हनुमाननगर भारदह सडकखण्ड अबरुद्ध पारेपछि सो सडक भएर आवत जावत गर्ने कठिनाई भएको छ । 
लगातार एक हप्तादेखी अत्यधिक वर्षापछि राजविराज ९ तेतरीगाछी चोकदेखि दक्षिणतर्फको बस्ती जलमग्न छ । घर भित्र पानी पसेपछि स्थानीयले खाना पकाउन समस्या भएको छ । 
व्यारेक टोल विकास संस्थाका अध्यक्ष भुपेश भुपका अनुसार सो क्षेत्रमा वर्षाको पानी निकास तथा ढल र नालाको व्यवस्था नहुँदा सामान्य वर्षामा समेत उक्त क्षेत्रका घरहरु डुबानमा पर्नजान्छ ।  
यता नगरपालिकाले पानी निकासको उचित व्यवस्था नगरेको स्थानीयको गुनासो छ । यसैबीच खाडो खोलामा आएको बाढीले निर्माणाधीन पुल बगाएपछि बुधबारदेखी सदरमुकाम राजविराज कुनौली सडक ठप्प भएको छ । 
सो सडक खण्ड अवरुद्ध भएकै कारणले त्यस भेगका बरही बिरपुर, बिषहरिया, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया सहितका गाविसका स्थानीयबासीहरु आवत जावतमा निकै समस्या खेप्नुपरिरहेको छ ।
त्यस्तै पूर्वी पहाडी जिल्लामा लगातार परेको वर्षाले त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिकाको अधिकांश घर डुबानमा परेका छन् । 
नदीमा आएको बाढीबाट सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ सहित अन्य वडामा पानी पसेर घरहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
अहिले सो वडाका मानिसको घरमा पानी पसेपछि पक्का घर भएकाहरूको छतमा र फुसको घर भएकाहरूले बाँधमा बस्न बाध्य भएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । 
साथै उक्त ठाउँको सडकमा पानी पानी भएपछि केही यातायातका साधन अवरुद्ध भएको बताइएको छ
यस्तै सप्तरी र सिरहाको बीचमा पर्ने बलान खेलमा आएको बाढीले त्यस आसपासका दर्जन घर डुबानमा परेका छन् । 
त्यसैगरी लगातारको बर्षाका कारणले जुडी नदीमा आएको बाढीले कविलासा गाविस वडा न. ५ का करिब एक दर्जन घर डुबानमा परेको स्थानीय युवा नेता जीवन कुमार यादवले जानकारी दिनुभयो । 
त्यस्तै सो नदीमा आएको बाढीका कारणले त्यहाँका स्थानीयबासीहरुलाई दिनहुँ उक्त सडक खण्ड भएर आवत जावतमा निकै समस्या खेप्नुपरीरहेको स्थानीयबासीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट