News Category 2073/03/17

चार मन्त्रालयका सचिवसमक्ष शिक्षा, स्वास्थ्यबारे गुनासै गुनासा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ असार । 
जिल्लास्थित शैक्षिक संस्था, स्वास्थ्य केन्द्र, स्थानिय निकाय, खेलकुद र लैङ्गिक समस्या बारे विहीबार राजविराजमा अन्तर मन्त्रालयबीच अन्तरक्रिया गरिएको छ । 
सो अन्तरक्रियामा सहभागिहरुले जिल्लाको शिक्षा क्षेत्रमा विभिन्न समस्याहरु देखापरेको भन्दै त्यसको निराकरणका लागि मन्त्रालयले पहल गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । शिक्षक महासंघका अध्यक्ष फुलेश्वर मण्डलले सामुदायिक विद्यालयलाई एक पैसा पनि विद्यार्थीहरुबाट लिने अधिकार नरहेको भन्दै सरकारले विद्यालयमा खेलकुद, स्वास्थ्य परिक्षण लगायत विभिन्न गतिविधिहरु गर्न निर्देशन दिइरहेको अवस्थामा ती गतिविधी विद्यालयले आफ्नो क्षमतामा कसरी गर्ने बारे मन्त्रालयका पदाधिकारीहरु समक्ष प्रश्न गर्नुभयो । 
उहाँले सरकारले विभिन्न शिर्षक छुट्याएरै रकम पठाएको हुँदा कुनै एक शिर्षकको अर्को शिर्षकबाट रकम खर्च गर्ने प्रावधान समेत नहुँदा विद्यालयलाई तलब खुवाउने बाहेक अन्य काम गर्न निकै अफ्ठ्यारो भएको गुनासो गर्नुभयो । 
त्यस्तै कार्यक्रममा पत्रकार महासंघका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवले चारवटै मन्त्रालयको जिल्ला स्तरिय समन्वय भएमा चारै मन्त्रालयबाट गरिने काम सजिलो हुने सुझाव दिनुभयो । त्यस्तै वरिष्ठ पत्रकार शिवहरी भट्टराईले सरकारले सबै कार्यालयमा सूचना अधिकृत तोकिदा समेत जिल्लामा सूचना अधिकृत बिना सूचनाकै भरमा कार्य गरिरहेको गुनासो गर्नुभयो । 
त्यस्तै गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरीले सहकार्य र समन्वय गरे मात्र जिल्लाका शिक्षा, स्वास्थ्य, खेलकुद, स्थानिय निकायलाई सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।   
यसैगरि सरकारी अस्पतालमा निःशुल्क औषधीहरु नपाइने तथा सरकारद्वारा दिइने निःशुल्क औषधीको नामसहित विवरण स्वास्थ्य चौकीमा नरहेकोले जनता अन्यौलमा परेको सगरमाथा अपाङ संघका अध्यक्ष बलदेव मण्डलले गुनासो गर्नुभयो । उहाँले अपाङ नाम मात्रको रहेको भन्दै जिल्लाका कुनै पनि सरकारी कार्यालय, अस्पताल, स्वास्थ्य चौकीलगायत अपाङ मैत्री हुन नसकेको कुरा मन्त्रालयका उप एवं सहसचिवहरुलाई ध्यानाकर्षण गराउनुभयो । अपाङता भएका व्यक्तिहरुलाई दिइने सहुलियत कार्ड समेतमा जटिलता रहेको उहाँले आरोप लगाउनुभयो । 
जिल्ला शिक्षा कार्यालय सप्तरीको समन्वयमा आयोजित सो अन्तरक्रियामा शिक्षा मन्त्रालयका उपसचिव दिपक शर्माले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय ल्याउन विभिन्न निकायका तर्फबाट पहल हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 
उहाँले जिल्लाका विद्यालयहरुमा देखिएका समस्याहरुलाई स्थानिय स्तरबाटै समाधान गर्न नसकेपछि मात्र सम्बन्धित निकायसमक्ष ल्याउनु पर्ने धारणा व्यक्त गर्नभयो । 
त्यस्तै स्थानिय विकास मन्त्रालयका उपसचिव बिजयराज सुवेदीले जिल्लामा आयोजित सुनौला हजार दिन कार्यक्रमबारे संचारकर्मीलाई सूचना प्राप्त नभइरहेको सन्दर्भमा चाडै मन्त्रालयबाट सम्बन्धि कार्यक्रम अधिकृतलाई सूचना उपलब्ध गराउन निर्देशन दिने बताउनुभयो । 
जिल्ला शिक्षा अधिकारी लक्ष्मी भट्टराईको अध्यक्षता तथा महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रंजु झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौड्याल, स्वास्थ्य मन्त्रालयका झलक शर्मा पौडेल, स्थानिय विकास मन्त्रालयका उपसचिव बिजयराज सुवेदी, व्यवस्थापिका संसदका कान्छा दुलाल, युनिसेफका शिक्षा विज्ञ पुरुषोत्तम आचार्य, युनिसेफका क्षेत्रिय प्रमुख ढुण्डीराज विक, जिल्लाका विभिन्न विद्यालयका शिक्षक, प्रअ, विभिन्न संस्थाका अध्यक्ष, प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट