News Category 2073/03/18

आयोगद्वारा विद्यार्थीलाई “घुम्ति निर्वाचन शिक्षा”

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ असार । 
निर्वाचन आयोगले सप्तरीको सामुदायिक र नीजि गरि दुई विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार घुम्ति निर्वाचन शिक्षा अन्तरगत विभिन्न जानकारी दिएको छ । 
निर्वाचन आयोगका उपसचिव सूर्य प्रसाद अर्यालले सप्तरीको बोरियास्थित नरेन्द्र मेमोरियल मावि र राजविराज ९ स्थित पिसजोन बोर्डिङ स्कुलका कक्षा ९ का विद्यार्थीहरुलाई निर्वाचन शिक्षा बारे जानकारी दिनुभयो । 
आयोगका उपसचिव अर्यालले विद्यार्थीहरुलाई नेपालको नयाँ संविधानमा निर्वाचन आयोगको भूमिका तथा निर्वाचन सम्पन्न गराउने प्रक्रिया बारे जानकारी दिनुभयो । उहाँले नयाँ संविधानमा उल्लेख भए अनुसार गाउँपालिका, नगरपालिका, प्रदेशिक र केन्द्रिकृत निर्वाचन बारे जानकारी समेत दिनुभयो । 
उपसचिव अर्यालले विद्यार्थीहरुलाई इलेक्ट्रोनिक भोटिङ मेसिनको उपयोगिता तथा मतदान गर्ने प्रक्रिया प्रयोगात्मक गरि देखाउनुभयो । उहाँले अहिलेको मतदान प्रक्रियाबाट बदर मत खस्ने गरेकोमा मेसिनको प्रयोगबाट भोट बदर हुने संख्या नरहने उल्लेख गर्नुभयो । 
यस्तै सो कार्यक्रममा आयोगकी ममता श्रेष्ठले घुम्ति निर्वाचन शिक्षाको उद्देश्य र उपयोगिता बारे प्रकाश पार्नुभएको थियो । उहाँले यस्तो शिक्षा मुलुकको आठ जिल्लामा संचालन भइरहेको जानकारी दिँदै सप्तरी ७ औं र अन्तिम जिल्ला उदयपुर हुने जानकारी दिनुभयो । 
सोही कार्यक्रममा पिसजोन बोर्डिङ स्कुलका प्रअ हरिशचन्द्र प्रसादले विद्यार्थीहरुका लागि निर्वाचन शिक्षा अत्यन्त आवश्यक रहेको भन्दै निर्वाचन आयोगले विद्यार्थीहरुलाई दिएको शिक्षाप्रति आभार प्रकट गर्नभयो । 
यसअघि उपसचिव अर्यालले शुक्रबारै जिल्लाको बोरिया गाविसस्थित नरेन्द्र मेमोरियल माविका विद्यार्थीहरुलाई धुम्ति निर्वाचन शिक्षा सम्बन्धि जानकारी दिनुभएको थियो । दुबै कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सप्तरीका अधिकृत महेश ठाकुर समेतको उपस्थिति रहेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट