News Category 2073/04/04

अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने गठबन्धनको निर्णय साउन ५ देखि भदौ २८ गतेसम्मको नयाँ आन्दोलनका कार्यक्रम घोषणा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौँ, ३ साउन । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
काठमाडौंस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालयमा सोमबार बसेको गठबन्धनको बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्न सहयोग गर्ने निर्णय गरेको हो ।
गठबन्धनले उठाउँदै आएको २६ बुँदे मागका विषयमा काँग्रेस–माओवादी गठबन्धनले लिखित सहमतिको प्रतिबद्धता जनाएको खण्डमा गठबन्धन सरकारमा सहभागी हुने मोर्चाले संकेत भने दिएको छ । यद्यपि, गठबन्धनले तत्काल सरकारमा जाने वा नजानेबारे कुनै निर्णय गर्न सकेन ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौंको खुल्ला मञ्चको रिले अनसन पछि आइतबार र सोमबार बसेको गठबन्धनको बैठकबाट अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठक पछि सोमबार गठबन्धनद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा ३९ दिने रिले अनसन सफल भएको निष्कर्ष निकाल्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
करिब दुई महिने राजधानी केन्द्रित आन्दोलन सकेको गठबन्धनले चौथो चरणमा साउन ५ देखि भदौ २८ गतेसम्मको नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 
राजधानी काठमाडौँसहित देशका विभिन्न १० स्थानमा बुद्धिजीवी तथा राजनीतिक दलका नेतालगायतसँग बृहत् अन्तक्र्रिया गरिने जनाएको छ ।
गठबन्धनको घोषित कार्यक्रमअनुसार काठमाडौँमा साउन ५, धनगढीमा १७, घोराहीमा २२, बुटवलमा २५, हेटौँडामा ३२, चन्द्रनिगाहपुरमा भदौ ४, बर्दिवासमा ११, इटहरीमा १७, बिर्तामोडमा २२ र विराटनगरमा २८ गते अन्तक्र्रियात्मक कार्यक्रम हुनेछन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट