News Category 2073/04/08

आचारण र व्यवहारमा परिवर्तन गर्न प्रहरीलाई अनुरोध ः महानिरिक्षक अर्याल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ साउन । 
नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालले जनताको आवश्यकता र चाहना अनुसार आचारण र व्यवहारमा परिवर्तन गर्न प्रहरीलाई अनुरोध गर्नुभएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रहरी महानिरिक्षक अर्यालले सो अनुरोध गर्नुभएको हो । 
प्रहरीको कार्यशैली पनी समाजलाई उपयुक्त हुने खालको हुनुपर्ने बताउँदै उहाँले अनि मात्र समाजले प्रहरीलाई सहज रुपले स्वीकार गर्न सक्ने उल्लेख गर्नुभयो । 
महानिरिक्षक अर्यालले सुन्दर भवन सँगसँगै प्रहरीको काम गर्ने तरीकाहरु पनि सुन्दर हुनुपर्ने धारणा राख्नुभयो । प्रहरीले सुन्दर संरचनाबाट सुन्दर सेवा र विचार समाजलाई प्रदान गर्नुपर्ने भन्दै उहाँले अपराध मुक्त समाज निर्माणका लागि नागरिक समाजको सहयोग आवश्यक रहेको बताउनुभयो । 
सो अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालले १६ कोठा भएको अढाई तल्ले भवनको निर्माण कुल १ करोड २२ लाख ३२ हजार ५ सय ३ रुँपैया ९४ पैसाको लागतमा भएको जानकारी दिदै कार्यालयको १६ कठ्ठा ४ धुर जग्गा रहेको बताउनुभयो । 
कार्यक्रममा क्षेत्रिय अस्पताल निर्माणका लागि भवन तथा जग्गा दान गर्ने दाता ठाकोदेवी जोगेन्द्र भगत प्रतिष्ठानका श्रीमती ठाकोदेवी र जोगन्द्र भगतलाई महानिरिक्षक अर्यालले दोसल्ला ओढाई सम्मान समेत गर्नुभयो । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको नकटी रायपुर ८ स्थित निर्माणाधिन भवनसहितको १ विगहा १ कठ्ठा साढे ८ धुर क्षेत्रफलको जग्गा प्रदान गर्ने भगत दम्पत्तिले प्रहरीलाई क्षेत्रिय अस्पताल निर्माण गर्न जग्गा दान गर्नुभएको हो । 
सोही अवसरमा जग्गादाता भगत दम्पत्तिले पूर्व क्षेत्रिय प्रहरी कार्यालयका डिआइजी केशरीराज घिमिरेलाई सो जग्गाको आवश्यक कागजातहरु प्रदान गर्नुभयो ।  
सो अवसरमा पूर्व क्षेत्रिय प्रहरी कार्यालयका डिआइजी केशरीराज घिमिरे, सगरमाथा अंचल प्रहरी कार्यालयका प्रमुख एसएसपी उत्तम बहादुर सिंह, सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जनताको सेवा गर्न प्रहरी सदैव तयार रहेको बताउनुभयो ।  
भवन उद्घाटन समारोहको अवसरमा जिल्लाका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरु, उद्योगि व्यापारी, संचारकर्मी, स्थानियवासी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट