News Category 2073/04/22

मधेश आन्दोलनका कारण एमआरपी बनाउनेको संख्यामा ६ हजारले कमी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ साउन । 
मधेश आन्दोलनका कारण गत वर्षको तुलनामा यस वर्ष सप्तरीबाट एमआरपी बनाउनेको संख्यामा करिब ६ हजारले कमी आएको छ । 
जिल्ला प्रशासान कार्यालय सप्तरीका अनुसार आर्थिक वर्ष २०७२ साउनदेखी २०७३ असार मसान्तसम्ममा १३ हजार ४ सय ९५ जनाले एमआरपीका लागि आवेदन दिएका थिए । यो संख्या गत आर्थिक वर्ष २०७१÷२०७२ को तुलनामा करिब ६ हजारले कम हो । 
साधारण तर्फ १० हजार ३ सय २ र द्रुत सेवा अन्तरगत एमआरपीका लागि आवेदन दिनेको संख्या ३ हजार १ सय ९३ रहेको छ । साधारण तर्फ रु. ५ हजार र दु्रत सेवा अन्तरगत रु. १० हजार शुल्क लाग्ने गरेको छ ।
यसअघि सप्तरीबाट गत आर्थिक वर्ष २०७१÷२०७२ मा करिब १९ हजारको हाराहारीमा एमआरपीका लागि आवेदन परेको जिल्ला प्रशासन कार्यालय सप्तरीका एमआरपी फाँटका प्रमुख नासु तोम बहादुर दाहालले जानकारी दिनुभयो । 
एमआरपी बनाउनेको संख्यामा कमी आउनुको मुख्य कारण गत वर्ष ६ महिनासम्म जारि मधेश आन्दोलन रहेको नासु दाहालले बताउनुभयो । सो समयमा गाविस सचिवले नागरिकता लागि सिफारिस नगर्नु र हस्तलिखित राहदानी लिएकाहरुले अनिवार्य रुपमा एमआरपी बनाउनेको संख्या घटेकोले राहदानी बनाउनेको संख्यामा कमी आएको उहाँ बताउनुहुन्छ । 
जिल्ला प्रशासन कार्यालय सप्तरीमा अहिले एमआरपीकालागि आवेदन दिनेको संख्या दैनिक ४० देखी ६० सम्मको हाराहारीमा रहेको छ । बढ्दो बेरोजगारी तथा जिल्लामा उद्योग कलकारखाना नरेहकोले रोजगारीका लागि युवाहरु बिदेशिने गरेका छन् । एमआरपी बनाउनेहरु प्राय गरि १८ देखी ३५ वर्षसम्मका यूवा युवतीहरु रहेका छन् भने त्यसमा पनि बढी १८ सम्मका यूवाहरु रहेको उहाँले जानकारी दिनुभयो । 
यसैबीच नासु दाहालले चालु आ.ब. २०७३÷७४ को साउन १ देखी २० गतेसम्ममा ८ सय जनाले एमआरपीका लागि निवेदन दिइसकेको जानकारी दिनुभयो । उहाँले आवेदन दिनेको संख्या यही रह्यो भने चालु आ.व.मा एमआरपी लिनेको संख्या करिब २० हजार पुग्ने दाबी समेत गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट