News Category 2073/05/02

प्रथम सहिद राजीवको स्मृतिमा सभा सबै सहिद परिवारसँगै जिउँदो सहिद र घाईतेलाई सम्मान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ भदौं । 
तेश्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतको प्रथम स्मृतिको अवसरमा बुधवार सप्तरीको भारदहमा मधेसी मोर्चाद्वारा ‘सहिद स्मृति सभा’ आयोजना गरिएको छ । उक्त क्रममा सप्तरीबाट आन्दोलनमा सहिद भएका सबैका परिवारजन, जिउँदो सहिद तथा घाईतेहरुलाई सम्मानसमेत गरिएको छ । 
संघीय समाजवादी फोरम नेपालबाहेक अन्य मधेसवादी दलहरु सम्मिलित मधेसी मोर्चा सप्तरीको आयोजनामा मधेश आन्दोलन तेश्रोका पहिलो सहिद भारदहका राजिव राउतको प्रथम पुण्यतिथिको अवसरमा उक्त स्मृति सभा आयोजना गरिएको हो ।
सभामा प्रमुख अतिथि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहिदका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 
संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशवादी दलहहरुले सुरु गरेको आन्दोलनका क्रममा २०७२ साल भदौं १ गते पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा प्रहरीको गोली लागि स्थानिय राजिव राउतको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि तेश्रो मधेस आन्दोलनको मधेसभरि चर्किएको थियो । 
संविधान र सिमाङ्कनमा ब्यापक असन्तुष्टि जनाउँदै ६ महिना लामो चलेको आन्दोलनका क्रममा सप्तरीबाट भारदहका राजिव राउत, पोर्ताहाका रामकृष्ण राउत, डाढा गाविसका बिरेन्द्र राम, जमुनी मधेपुराका नागेश्वर यादव, राजविराजका दिलिप साहको मृत्यु प्रहरीले चलाएको गोली लागेर भएको थियो भने आन्दोलनकै क्रममा जमुनीमधेपुरका शिवशंकर दास र पोर्ताहाका बालकृष्ण रायको ज्यान गएको थियो । 
माग पूरा नभएसम्म संघर्ष
सहिद स्मृति सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सद्भावना अध्यक्ष राजेन्द्र महतोले माग पूरा नभएसम्म अधिकारप्राप्तीको संघर्ष जारी रहने बताउनुभयो । ‘मधेसमा दुई प्रदेश हुनुपर्ने भनि हाम्रो बटमलाईन पहिलो पनि थियो, अहिले पनि त्यही नै हो’, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कडा नेताका रुपमा चिनिंदैआएका महतोले सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘आन्दोलनको क्रममा मारिएका सहिदहरुको सपना पूरा गराउन हामी पछि हटदैनौं ।’
‘माओवादी–काँग्रेस गठबन्धनको सरकारले मधेसको माग पूरा गर्ने भनि देखाएको तदारुकता बमोजिम तीन बुँदै सहमती हाम्रो भएको छ’, अध्यक्ष महतोले भन्नुभयो, ‘यदि माओवादी–काँग्रेस गठबन्धनको सरकारले मधेसको माग पूरा गर्न आनाकानी गरे हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलन गर्नुको विकल्प रहँदैन् ।’
सोही सभामा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्र कुमार सिंह यादव, नवल किशोर साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिंह, तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहासचिव जयप्रकाश ठाकुर, सद्भावनाका केन्द्रि सदस्यहरु दिपेन्द्र चौधरी, दिनेश यादव, पुनम यादव, अमरनाथ मण्डल, तमलोपाकी केन्द्रिय सदस्य साधना झा, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य सुरेश सिंह लगायतको सहभागिता रहेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट