News Category 2073/05/07

विद्युत अवरुद्ध हुँदा आँखा कान अस्पतालको सेवा ठप्प

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ भदौं । 
ट्रान्सफर्मर पड्किएर विद्युत सेवा अवरुद्ध भएपछि राजविराजस्थित आँखा अस्पतालको सम्पूर्ण सेवा ठप्प भएको छ । सप्तरीको एक मात्र सगरमाथा चौधरी आँखा अस्पताल लहान, शाखा आँखा उपचार केन्द्र राजविराज मलेठमा विद्युत अवरुद्ध भएपछि बिरामीहरु उपचार गर्नबाट बञ्चित भएका छन् । 
राजविराज रुपनी सडक खण्ड अन्तरगत सप्तरीको मलेठ गाविस ७ मा रहेको आँखा अस्पतालका बिरामीहरु विद्युत नभएको कारणले उपचार गर्नबाट बञ्चित भएका छन् । मलेठ गाविसस्थित सो सडक खण्डमा रहेको ५० मेघावाटको विद्युतीय ट्रान्सफर्मर शनिबार राती ८ बजे पड्किएको हो । यता ट्रान्सफर्मर पड्किएकै दिन बिहान अस्पतालमा रहेको जेनरेटर बिग्रिनु र इन्भर्टर समेत डिस्चार्ज हुनाले बिरामी झनै अन्यौलमा परेका छन् । 
विद्युत सेवा अवरुद्ध भएपछि आइतबार बिहानैदेखी अस्पतालले बिरामीहरुलाई सेवा दिन नसकेको अस्पतालका प्रमुख रामकुमार झाले बताउनुभयो । यस्तै अस्पताल क्षेत्रकै अर्को भवनमा रहेको कान उपचार केन्द्रका बिरामीहरु समेत विद्युत सूचारु नहुँदा विचल्लीमा परेका छन् । 
यता बिरामीहरुले अस्पतालले जेनरेटरको व्यवस्था गरेर पनि बिरामीहरुको उपचार गर्नुपर्ने माग गरेका छन् । प्रत्येक दिन एक सय भन्दा बढी बिरामीहरु आँखा जाँच गराउन अस्पताल पुग्ने गरेका छन् । सो अस्पतालले आँखा सम्बन्धि सम्पूर्ण जाँच गर्नुका साथै हप्ताका एक पटक मोतियाबिन्दुको शल्यक्रिया समेत गर्ने गरेको छ ।  
यस्तै विद्युत अवरुद्ध हुँदा मलेठ गाविस वडा नं. ३, ७ र ८ का सयौ परिवार गर्मीमा कष्टकर जीवन यापन गर्न बाध्य भएका छन् । त्यस्तै विद्युत नहुँदा मलेठ गाविसमा रहेका दुई वटा धान कुटने मिल, एउटा फर्निचर उद्योग र दुई वटा पेट्रोल पम्प समेत बन्द भएको छ । यस सम्बन्धमा विद्युत प्राधिकरणलाई सम्पर्क गर्दा उक्त क्षेत्रमा विद्युत सूचारु हुन कम्तिमा एक साता लाग्ने जवाफ दिएको प्रमुख झाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट